
काठमाडौं, २७ बैशाख । ओम फर्मास्युटिकल्स ल्याव प्रालिले ग्यास्ट्रिक तथा एसिडसम्बन्धी रोगहरूको उपचारका लागि भोनोप्राजानयुक्त नयाँ औषधी ‘रेनोभ’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
औषधी व्यवस्था विभागबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले गत शुक्रबारदेखि ‘रेनोभ १०’ र ‘रेनोभ २०’ नाममा क्रमशः १० एमजी र २० एमजी डोजका औषधी बजारमा उपलब्ध गराउन थालेको जनाएको छ।
कम्पनीका अनुसार ‘रेनोभ’ नयाँ पुस्ताको पोटासियम कम्पेटिटिभ एसिड ब्लकर (P-CAB) प्रविधिमा आधारित औषधी हो। यसले पेटमा उत्पादन हुने अतिरिक्त एसिडलाई छिटो तथा लामो समयसम्म नियन्त्रण गर्न सहयोग पुर्याउने दाबी गरिएको छ।
यो औषधी ग्यास्ट्रो–इसोफेजियल रिफ्लक्स डिजिज (GERD), इरोसिभ इसोफेजाइटिस, ग्यास्ट्रिक तथा डुओडेनल अल्सरको पुनरावृत्ति रोकथाम, साथै हेलिकोब्याक्टर पाइलोरी संक्रमणको उपचारमा सहायक थेरापीका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ‘रेनोभ’लाई परम्परागत प्रोटोन पम्प इन्हिबिटर (PPI) समूहका औषधीभन्दा प्रभावकारी एसिड नियन्त्रण गर्ने आधुनिक उपचार विकल्पका रूपमा प्रस्तुत गरेको छ।

भोनोप्राजानलाई विश्वका विभिन्न देशमा ग्यास्ट्राइटिस, एसिडिटी, एसिड रिफ्लक्सलगायत एसिडसम्बन्धी समस्याको उपचारमा प्रयोग गरिँदै आएको उल्लेख गर्दै कम्पनीले नेपालमा यो नयाँ वर्गको थेरापी भित्र्याउने अग्रणीमध्ये आफू रहेको दाबी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको प्रचार सामग्रीमा ‘Next Generation Therapy, Superior Acid Control’ अर्थात् ‘नयाँ पुस्ताको थेरापी, अझ प्रभावकारी एसिड नियन्त्रण’ भन्ने सन्देश समावेश गरिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिएको उक्त औषधीले नेपालभरका बिरामीको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार ‘रेनोभ’ चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्ने औषधी हो।
ओम फर्मास्युटिकल्सले यसअघि पेन्टोप्राजोल, ओमिप्राजोल, रेबिप्राजोल तथा इसोमेप्राजोल फास्ट रिलिजिङ ट्याब्लेटलगायत ग्यास्ट्रिकसम्बन्धी विभिन्न औषधी उत्पादन गर्दै आएको छ।


