

उदयपुर – उदयपुर जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी–रेबिज भ्याक्सिन) अभाव भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। सरकारी कोटाअनुसार उपलब्ध हुने खोपको आपूर्ति नहुँदा अस्पतालमा खोप सकिएको हो।
अस्पतालमा विगत १५ दिनदेखि रेबिजविरुद्धको खोपको मौज्दात समाप्त भएको जनाइएको छ। खोप उपलब्ध नभएपछि अस्पताल प्रशासनले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि खोप सेवा स्थगित गरिएको जानकारी दिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा मार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र मा आउने खोप त्यहाँबाट जिल्ला अस्पतालमा पठाइने व्यवस्था छ। तर हालसम्म आवश्यक खोप प्राप्त नभएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रशासन प्रमुख भगवती खतिवडाका अनुसार खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिएको भए पनि हालसम्म खोप प्राप्त हुन सकेको छैन।
सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य भएका छन्।
यसबाहेक अस्पतालमा रेबिजविरुद्धको खोप मात्र होइन, सशुल्क तथा निःशुल्क वितरण हुने अन्य औषधिहरूको समेत स्टक सकिएको अस्पतालले जनाएको छ। समयमै औषधि खरिद प्रक्रिया अघि बढाउन नसक्दा औषधि अभाव भएको बताइएको छ।
अस्पतालले खरिद गरिएका औषधिको भुक्तानी समयमै नगरेका कारण आपूर्तिकर्ताले औषधि उपलब्ध गराउन छाडेको जनाइएको छ। हाल स्वास्थ्य बिमामार्फत वितरण हुने नियमित औषधिसमेत फार्मेसीमा उपलब्ध नभएको अस्पताल स्रोतले जनाएको छ।


