

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका विषयमा निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ।
केन्द्रविन्दुसँगको कुराकानीमा अध्यक्ष पदका उम्मेदवार डा. सञ्जीव तिवारीले निर्वाचन समितिले चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार निर्वाचन समितिले यसै बुधबार सर्वपक्षीय बैठक बोलाएको छ। उक्त बैठकमा निर्वाचनको नयाँ मिति तय गर्ने विषयमा छलफल हुने र त्यसपछि समितिले स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
डा. तिवारीले भने, “निर्वाचन समितिले सर्वपक्षीय भेला बोलाएको छ। अब आउने बुधबार हुने बैठकमा निर्वाचनको मिति कहिले तय गर्ने भन्ने विषयमा छलफल हुन्छ र त्यसपछि समितिले हामीलाई एउटा खाका दिनुहुन्छ। सोही आधारमा निर्णय हुने विश्वास छ।”
त्यस्तै अध्यक्ष पदकै अर्का उम्मेदवार डा. बद्री रिजालले पनि निर्वाचनको विषयमा निरन्तर छलफल भइरहेको बताउँदै चाँडै नै मिति घोषणा हुने बताए। उनले भने, “चुनावको विषयमा छलफल भइरहेको छ। सम्भवतः अब २–४ दिनभित्रै निर्णय हुन्छ र त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ।”
यसअघि पहिलो चरणमा उपत्यका बाहिरका जिल्लामा माघ २ र ३ गते निर्वाचन गर्ने कार्यतालिका तय गरिएको थियो। यस्तै काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते निर्वाचन गर्ने कार्यक्रम रहेको थियो।
तर नेपाल चिकित्सक संघको निर्वाचनसम्बन्धी विवादमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको थियो।
संघको केन्द्रीय निर्वाचनसहित विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो।


