

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले दोलखा र रामेछाप जिल्लाका अस्पतालहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।
मन्त्री शर्माले आइतबार जिरी अस्पताल, रामेछाप अस्पताल र मन्थलीस्थित स्वास्थ्य संस्थाहरूको अनुगमन गरेकी हुन्। अनुगमनका क्रममा सम्बन्धित अस्पताल प्रशासनले संस्थाको हालको अवस्था, बिरामीहरूको बढ्दो चाप तथा सेवा प्रवाहमा देखिएका प्रशासनिक र प्राविधिक समस्याबारे मन्त्री शर्मालाई जानकारी गराएका थिए।
अस्पताल व्यवस्थापन पक्षले सीमित जनशक्ति, उपकरण अभाव तथा सेवा व्यवस्थापनका चुनौतीहरूबारे पनि मन्त्रीलाई अवगत गराएका थिए।
सो अवसरमा उपस्थित सरोकारवालाहरूले दोलखा र रामेछाप जिल्लामा रहेको समग्र स्वास्थ्य सेवाको अवस्था, सेवामा देखिएका समस्याहरू तथा सुधार गर्नुपर्ने विषयहरूबारे मन्त्री शर्मासमक्ष धारणा राखेका थिए।
अनुगमनका क्रममा मन्त्री शर्माले प्रदेश तथा स्थानीय तहअन्तर्गत सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गरिन्। साथै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिइन्।


