

काठमाडौं – नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन्।
मंगलवार ललितपुरमा आयोजित नेपाल फार्मा एक्स्पो तथा औषधिमा आत्मनिर्भरता सम्बन्धी नीतिगत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यसका लागि हालको २०३५ सालको औषधि ऐनलाई परिमार्जन गर्नु आवश्यक रहेको बताए।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिँडिरहेका छौं। औषधि ऐनलाई जनतामुखी बनाऔं। २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेको छैन, प्रशासनले पनि काम गर्न सकेको छैन। यदि औषधि ऐनमा नीतिगत सुधार गर्यौं भने हामी पाँच वर्षभित्र नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सक्छौं। ८० प्रतिशत औषधि हामी उत्पादन गरेर देखाउनेछौं,’ उनले बताए।
अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय नभएको भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। ‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने? कहाँ लगेर परीक्षण गर्ने? नेपालको औषधि गुणस्तरीय छैन भन्ने भ्रम फैलाउने काम भइरहेको छ। तर हामी विदेशमा समेत औषधि निर्यात गर्न योग्य छौं र गरिरहेका छौं,’ उनले स्पष्ट पारे।



