

काठमाडौं – पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो बनेको छ भने घामको किरण पनि स्पष्ट रूपमा देखिन सकेको छैन।
बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको छ। दृश्य क्षमता घटेकाले यातायात सञ्चालनमा केही असर परेको छ भने हवाई उडानमा पनि सामान्य प्रभाव देखिएको छ। हावामा धुलोका सूक्ष्म कण र धुवाँको मात्रा बढेसँगै सर्वसाधारणले आँखा पोल्ने, घाँटी सुख्खा हुने तथा श्वासप्रश्वासमा असहजता महसुस गरिरहेका छन्।
वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नभएको, सुक्खा मौसम कायम रहनु तथा देशका विभिन्न भागमा लागेको डढेलोबाट निस्किएको धुवाँ हावासँगै उपत्यकामा प्रवेश गर्दा प्रदूषणको मात्रा एक्कासि बढेको मौसमविद्हरूको भनाइ छ।
स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग भएका व्यक्तिहरूलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन सुझाव दिइएको छ। बाहिर निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्न उनीहरूले आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार तत्काल ठूलो वर्षा हुने वा तीव्र हावा चल्ने सम्भावना कम देखिएकाले आगामी केही दिनसम्म प्रदूषणको अवस्था यथावत रहन सक्ने अनुमान गरिएको छ। सम्बन्धित निकायहरूले पनि अनावश्यक रूपमा सवारी साधन नचलाउन, फोहोर तथा प्लास्टिक नजलाउन र वातावरण प्रदूषण बढाउने गतिविधि नगर्न सर्वसाधारणलाई अपिल गरेका छन्।



