

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न गाउँमा दादुराको संक्रमण फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ अन्तर्गत पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरू भेटिएपछि सतर्कता अपनाइएको हो ।
स्थानीय स्वास्थ्यकर्मीका अनुसार हालसम्म करिब ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । तीमध्ये २२ जना बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालका अनुसार संक्रमण थप फैलिन नदिन नगर क्षेत्रका विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले सङ्कलन गरेको पाँचवटा स्वाब नमुना परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमण फैलने जोखिम बढेपछि नगरपालिकाको स्थानीय द्रुत प्रतिक्रिया समितिले फागुन २३ गते बसेको बैठकबाट विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार फागुन २५ गतेदेखि २७ गतेसम्म तीन दिनका लागि नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अभिभावक र विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन, भीडभाडबाट टाढा रहन तथा संक्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।



