
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा थप कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा, वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण स्वीकृत स्वास्थ्य संस्थाबाट मात्रै गरिनुपर्ने स्पष्ट उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार, स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार यतिबेला पनि परीक्षण हुँदै आएको भए पनि पछिल्लो समय केही गन्तव्य मुलुक, विशेष गरी जीसीसी राष्ट्र र मलेसियासम्बन्धी प्रक्रियामा अनधिकृत निकाय, व्यक्ति वा संस्थाको संलग्नता बढेको पाइएको छ।
यस्ता गतिविधिका कारण स्वास्थ्य परीक्षणका मापदण्ड आफूखुसी परिवर्तन हुने, नयाँ संस्था थपिने र सेवा शुल्क मनोमानी रूपमा निर्धारण हुने प्रवृत्ति देखिएको मन्त्रालयले जनाएको छ। यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने अवस्था सिर्जना भएको बताइएको छ।
मन्त्रालयले सम्बन्धित निकायलाई द्विपक्षीय सहमति र कार्यविधिविपरीत हुने कुनै पनि गतिविधि नगर्न र आवश्यक निर्णयहरू मन्त्रालयको पूर्वस्वीकृतिमा मात्र गर्न निर्देशन दिएको छ। साथै, नेपालस्थित कूटनीतिक नियोगमार्फत गन्तव्य मुलुकलाई समेत जानकारी गराई, स्वीकृत व्यक्ति वा संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको छ।
मन्त्रालयले यो कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणाली विश्वसनीय, सहज र श्रमिकमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ।



