
मुगु- जिल्लाको पश्चिमी भेगमा पर्ने **खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा एक सातादेखि फैलिएको भाइरल ज्वरोले पूरै गाउँ थला परेको छ । ज्वरोको संक्रमण बालबालिकादेखि वृद्धवृद्धासम्म फैलिँदा बिरामीको संख्या ४ सय नाघेको स्थानीयले बताएका छन् ।
स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चारवटा बस्तीमा तीव्र रूपमा फैलिएको हो । हाल करिब ४ सय जना बिरामी छन् । तर स्वास्थ्य संस्था, जनशक्ति र औषधि—तीनैको अभावले उपचारमा गम्भीर समस्या देखिएको छ ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट चिकित्सकसहितको टोली गाउँ पुगे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । टोली फागुन १२ गते फर्किसकेको छ भने हाल नर्खजी गाउँमा एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गरिरहेका छन् ।
नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर विकका अनुसार दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । “गाउँपालिकालाई जानकारी गराइसकेका छौँ । औषधि पठाइए पनि बिरामीको चापले सकिएको छ । अहिले स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै बाँकी छ,” उनले भने । आफू सहित एक जना मात्र स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिन भइरहेको उनले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी दिए । ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएको र औषधिको अभाव रहेको उनले बताए । “५० जनालाई खोप लगाइएको छ । तर म आफैँ ज्वरोबाट प्रभावित भएपछि दुई दिनअघि टोली फर्किनुपर्यो,” उनले भने । समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने र दीर्घरोगीका लागि जोखिम बढ्ने उनको चेतावनी छ । स्वास्थ्यकर्मीहरूका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिन सक्ने खतरा रहेको छ ।
यता गाउँमा ज्वरोको प्रकोप बढिरहेका बेला फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू शिक्षा र स्वास्थ्यका नारा बोकेर भोट माग्दै गाउँ पुगेका छन् । तर औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ । बिरामीको संख्या अपेक्षाभन्दा धेरै बढेकाले अभाव भएको उनले बताए । “दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्समार्फत ल्याउने तयारी भइरहेको छ,” उनले भने ।
जिल्ला अस्पताललाई आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका लागि मौखिक रूपमा आग्रह गरिए पनि सकारात्मक जवाफ नआएको रावलको भनाइ छ । यस विषयमा जिल्ला अस्पताल मुगु का प्रमुख डा. निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताए । भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहीँबाट टोली परिचालन गरिएको उनको भनाइ छ ।
समयमै प्रभावकारी उपचार, पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापन नभए नर्खजी गाउँमा फैलिएको भाइरल ज्वरोले थप जटिल रूप लिन सक्ने र फागुन २१ गते हुने निर्वाचनमा समेत प्रभाव पार्न सक्ने स्थानीयको चिन्ता छ ।


