

उत्साहहीन, निराश र चासोहीन अवस्था नै उदासीनता हो। उदासीनता अर्थात् डिप्रेसनले व्यक्तिको भावनात्मक मात्र होइन, शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छ। यो मानसिक स्वास्थ्यसम्बन्धी समस्या हो, जसबाट प्रभावित व्यक्तिलाई सामान्यतया आनन्द, खुसी वा रमाइलो लाग्ने गतिविधिप्रति रुचि हुँदैन।
डिप्रेसनको समस्या बढ्दै गएमा व्यक्तिको जीवनप्रतिको लगाव घट्दै जान्छ। परिवार, साथीभाइ र समाजसँगको सम्बन्धमा दरार आउन सक्छ। समयमै यसको व्यवस्थापन गर्न नसक्दा अवस्था झन् जटिल बन्दै आत्महत्यासम्मको जोखिम पनि बढ्न सक्ने विज्ञहरू बताउँछन्। यद्यपि परिवारजन, आफन्त तथा साथीभाइको सकारात्मक साथ, समझदारी र सहयोगले उदासीनताबाट बाहिर आउन ठूलो मद्दत पुग्न सक्छ।
उदासीनताका प्रमुख लक्षणहरू
डिप्रेसनबाट ग्रस्त व्यक्तिमा विभिन्न मानसिक र शारीरिक लक्षण देखिन सक्छन्।
- मन सधैं उदास रहनु
- आत्मग्लानी वा आफूलाई दोषी ठान्ने भावना आउनु
- इच्छाशक्ति कमजोर हुनु
- शारीरिक शक्ति घट्दै जानु
- आत्मविश्वासमा कमी आउनु
- निद्रामा गडबडी देखिनु
- खानामा रुचि कम हुनु
- दैनिक काममा ध्यान केन्द्रित गर्न नसक्नु
- कार्यक्षमतामा ह्रास आउनु
- निर्णय लिने क्षमतामा कमी आउनु
- पहिले रमाइलो लाग्ने कुरा विस्तारै नरमाइलो लाग्नु
- जीवन व्यर्थ लागेको महसुस हुनु
- बाँच्ने इच्छा क्रमशः कम हुँदै जानु
डिप्रेसन कसरी व्यवस्थापन गर्ने ?
डिप्रेसनको प्रभावकारी व्यवस्थापन सम्भव छ। यसका लागि स्वयं व्यक्तिको सक्रिय भूमिका अत्यन्त आवश्यक हुन्छ। घरायसी, सामाजिक तथा सिर्जनात्मक कार्यमा आफूलाई व्यस्त राख्ने प्रयास गर्नुपर्छ। मनमा लागेको कुरा दबाएर राख्नुभन्दा खुलस्त रूपमा व्यक्त गर्नु र आवश्यक परे परिवार, साथीभाइ वा नजिकका विश्वासिला व्यक्तिसँग सहयोग माग्नुपर्छ। सामाजिक घुलमिल बढाउन र एक्लोपन कम गर्न विशेष ध्यान दिनुपर्छ।
उदासीनतामा रहेका व्यक्तिका परिवारजन तथा साथीभाइले उनीहरूले भन्न खोजेका कुरा ध्यानपूर्वक सुन्ने र भावनाहरू खुलस्त व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। व्यक्तिको आत्मसम्मानमा ठेस पुग्ने व्यवहार गर्नु हुँदैन। ‘म तिमीसँगै छु’ भन्ने जस्ता हौसला दिने शब्द र व्यवहारले मनोबल बढाउन ठूलो भूमिका खेल्छ।
समस्यामा रहेको व्यक्तिलाई अरूसँग तुलना गर्नु हुँदैन। उनीहरूको मनोदशा बुझ्ने प्रयास गर्नुपर्छ र समस्या सुनिदिने संस्कार विकास गर्न आवश्यक छ। यदि आत्महानी वा आत्महत्यासम्बन्धी सोच देखिएमा ढिलाइ नगरी मनोविमर्शकर्ता वा मनोचिकित्सकको सहयोग लिन उत्प्रेरित गर्नुपर्छ।
जीवनशैली सुधारका उपायहरू
डिप्रेसन व्यवस्थापनका लागि निम्न उपायहरू उपयोगी मानिन्छन्—
- दैनिक कार्यतालिका बनाएर काम गर्ने
- पोषणयुक्त र सन्तुलित खानपान गर्ने
- नियमित व्यायाम गर्ने
- योग तथा ध्यान अभ्यास गर्ने
- सुत्ने र उठ्ने समय निश्चित गर्ने
- धार्मिक वा आध्यात्मिक गतिविधिमा संलग्न हुने
- आवश्यक परे मनोविमर्शकर्ता तथा मनोचिकित्सकको सहयोग लिने
समुदायको भूमिका
डिप्रेसन व्यवस्थापनमा समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्छ। बिना अवरोध सहयोग लिन सकिने वातावरण निर्माण गर्न आवश्यक छ। सामाजिक सहयोग, सहानुभूति र सद्भावको विकासले मानसिक स्वास्थ्य प्रवर्द्धनमा टेवा पुर्याउँछ।
स्कुल, क्लब, युवा समूह, आमा समूह जस्ता सामाजिक संरचनामा सहभागिता बढाउने वातावरण मिलाउनुपर्छ। साथै मानसिक स्वास्थ्यसम्बन्धी कलंक र भेदभावविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता बनेको छ।



