काठमाडौं – नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी स्पष्ट योजना तयार गरेको जनाएको छ। पार्टीले स्वास्थ्य सेवामा देखिएको अव्यवस्थालाई अन्त्य गर्दै सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा ल्याउने लक्ष्य अघि सारेको छ।
बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः संरचना गरेर प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।
सभापति थापाले कांग्रेसकै पहलमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल अलपत्र अवस्थामा पुगेको उल्लेख गर्दै अब त्यसलाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पार्टीले गम्भीर रूपमा सोचिसकेको बताए।
“हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ। अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले स्पष्ट योजना बनाएका छौँ,” उनले भने, “कुनै पनि नेपालीलाई जस्तोसुकै रोग लागे पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गर्छौं।”
उनका अनुसार निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्रोतको सुनिश्चितता, एकीकृत प्रणालीको विकास र आवश्यक स्वास्थ्य जनशक्ति समयमै तयार पार्नुपर्ने आवश्यकता छ। यसका लागि दीर्घकालीन योजना अनुसार जनशक्ति उत्पादन र व्यवस्थापन गरिने उनले बताए।
सभापति थापाले अस्पताल भन्नाले केवल ठूला–ठूला भवन मात्र नभएको उल्लेख गर्दै अहिले उपलब्ध स्वास्थ्य संरचनालाई व्यवस्थित र सक्षम बनाउनु नै प्राथमिकता हुने बताए।
“स्वास्थ्यको पूर्वाधार कसरी तयार पार्ने, उपचार खर्च कसरी घटाउने, स्वास्थ्य जनशक्तिलाई कसरी नेपालमै खटाउने, बुढाबुढी र बालबालिकाले घरमै सेवा पाउने व्यवस्था कसरी गर्ने भन्ने विषयमा हामीले प्रतिज्ञापत्रमा स्पष्ट पारेका छौँ,” उनले भने।
उनले नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव रहेको दाबी गर्दै त्यसलाई व्यवहारमा उतार्न कांग्रेसले गहिरो अध्ययन र योजना बनाइसकेको पनि बताए।







