काठमाडौं – मेथी स्वास्थ्यका लागि अत्यन्त लाभदायक र बहुगुणी खाद्यान्न हो। हाम्रो रैथाने परम्परामा मेथीलाई औषधि सरह प्रयोग गर्ने चलन निकै पुरानो छ।
पहिलेका दिनमा पेट दुख्दा वा पखाला लाग्दा बज्यै–आमाहरूले एक मुठी चामल र दुई मुठी दालमा मेथी र लसुन घिउमा फुराएर बनाएको ‘मेथी जाउलो’ खुवाउने गर्थे। वैज्ञानिक शब्द थाहा नहुन सक्छ, तर रैथाने ज्ञानले नै रोग निको पार्ने उनीहरूको अभ्यास आज पनि उत्तिकै सान्दर्भिक छ।
आधुनिक विज्ञानले पनि मेथीमा प्रशस्त औषधीय गुण हुने पुष्टि गरिसकेको छ। मेथीमा पाइने रेसादार तत्वले कब्जियत कम गर्न सहयोग गर्छ। मधुमेह (चिनी रोग) र उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि मेथीको सेवन लाभदायक मानिन्छ। तर, मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबिना औषधि छोडेर केवल मेथीमै भर पर्नु हुँदैन भन्ने कुरामा सचेत रहनु आवश्यक छ।
सुत्केरी आमाहरूका लागि मेथीको खिर उत्कृष्ट पोषक आहार हो। मेथी भिजाएर त्यसको पानी निचोरेर दूधमा पकाउँदा तीतोपन कम हुन्छ र नियमित सेवन गर्दा शरीरलाई बलियो बनाउँछ। गर्भवती र सुत्केरी महिलाको समग्र स्वास्थ्य सुधारमा मेथीले महत्वपूर्ण भूमिका खेल्छ। सुत्केरी आमाले मेथी सेवन गर्दा स्तनदूधको मात्रा बढ्ने पनि विश्वास गरिन्छ।
गर्भावस्थामा देखिने कब्जियतको समस्यामा बाहिरका महँगा औषधि खानुभन्दा टुसा उमारेको मेथीको सलाद प्रभावकारी विकल्प बन्न सक्छ। मेथीमा लौह तत्त्व (आयरन) प्रशस्त हुने भएकाले यसले रगतको कमी हुन दिँदैन। सलादमा कागती मिसाएर खाँदा मेथीमा रहेको लौह तत्त्व शरीरले अझ राम्रोसँग शोषण गर्छ।
मेथीको दाना मात्र होइन, यसको साग पनि उत्तिकै पोषणयुक्त हुन्छ। भिटामिन ‘ए’ ले भरिपूर्ण मेथीको साग बालबालिकालाई खुवाउँदा आँखाको स्वास्थ्य, छालाको मजबुती र रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढ्छ।
स्कुल जाने नानीहरूलाई बिस्कुट वा चाउचाउजस्ता जंकफुड दिनुको सट्टा मेथीको साग मिसाइएको पराठा वा रोटी खाजाका रूपमा दिनु धेरै नै लाभदायक हुन्छ। यसरी हाम्रो भान्सामा सधैं उपलब्ध मेथीलाई दैनिक खानपानमा समावेश गर्न सके धेरै रोगबाट जोगिन सकिन्छ।







