

काठमाडौं – औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी’ नामक एन्टिबायोटिक औषधि न्यून गुणस्तरको भेटिएपछि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि तोकिएको मापदण्डअनुसार नपरेको पाइएको हो।
विभागले जानकारी दिएअनुसार कोरेक्श फार्मास्युटिकल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ‘एनक्लेभ ओडी’ (Amoxicillin and Clavulanate Potassium Tablets IP) को ब्याच नम्बर TEOD–026 मा गुणस्तरसम्बन्धी समस्या देखिएको छ। परीक्षणका क्रममा उक्त औषधि ‘प्रेस्क्राइब्ड आईपी २०२२’ अनुसार अमोक्सिसिलिन तथा क्लाभुलानिक एसिडको मात्रा र डिसोलुसन परीक्षणमा असफल भएको विभागले जनाएको छ।
उक्त ब्याचको उत्पादन मिति डिसेम्बर २०२४ र म्याद सकिने मिति मे २०२६ रहेको छ। औषधि ऐन, २०३५ अनुसार विभागले सो ब्याचका सबै औषधि तुरुन्त बिक्री–वितरण रोक्न, बजारबाट फिर्ता गर्न र फिर्ता गरिएको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा वितरकलाई निर्देशन दिएको छ।
साथै, विभागले उक्त ब्याचका औषधि सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न स्वास्थ्यकर्मी, औषधि व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ। विभागले आगामी दिनमा पनि नियमित बजार अनुगमनलाई थप तीव्र बनाउँदै गुणस्तरहीन औषधि नियन्त्रणमा कडाइ गर्ने जनाएको छ।




