

काठमाडौँ – भारतमा निपाह भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन (ईडीसीडी) ले नमुना संकलन र परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ।
निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या देखिएका, चेतनास्तरमा परिवर्तन भएका वा निपाह प्रभावित क्षेत्रको यात्रा इतिहास भएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकरण गरिनेछ। विशेषगरी संक्रमित जनावर, खासगरी फलफूल खाने चमेरासँगको सम्पर्क, काँचो खजुराको रस सेवन गरेको इतिहास वा बंगलादेश, भारतको पश्चिम बंगाल तथा केरलाजस्ता निपाह प्रभावित क्षेत्रमा यात्रा गरेको विवरण भएमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
यस्ता लक्षण देखिँदै मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई ‘सम्भावित निपाह केस’ मानिने निर्देशिकामा उल्लेख छ। यदि ती व्यक्ति पुष्टि भएका निपाह संक्रमितको सम्पर्कमा आएका छन् भने यस्तो वर्गीकरण लागू गरिनेछ।
निर्देशिकाअनुसार शंकास्पद तथा सम्भावित केसलाई तुरुन्तै आइसोलेसनसहित अस्पताल भर्ना गरिनेछ। उपचारमा संलग्न स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। साथै, विस्तृत केस अनुसन्धानका लागि रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) लाई जानकारी गराइने व्यवस्था गरिएको छ।
नमुना संकलनका क्रममा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सेरेब्रोस्पाइनल फ्लुइड (सीएसएफ) संकलन गरिनेछ। संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’ विधिबाट एनपीएचएल पठाइनेछ।
एनपीएचएलमा उच्च सुरक्षा प्रयोगशालामा नमुना प्रशोधन गरी निपाह भाइरसको रियल–टाइम पीसीआर परीक्षण गरिनेछ। परीक्षण नतिजा सकारात्मक आएमा प्रारम्भिक केसका लागि केन्द्रीय प्रयोगशालामा पुनः पुष्टि परीक्षण गरिनेछ। नतिजा नकारात्मक आएमा पिसाबको थप परीक्षण तथा लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसम्बन्धी अन्य सम्भावित संक्रमणको परीक्षणसमेत गरिनेछ।
स्वास्थ्य अधिकारीहरूका अनुसार यस अन्तरिम निर्देशिकाले निपाह भाइरसको समयमै पहिचान र नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। शंकास्पद लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।



