

काठमाडौँ- सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउन स्वास्थ्य बीमा बोर्डले सेवाग्राही र सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
मंगलबार एक अपिल जारी गर्दै बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा जिम्मेवार रूपमा प्रयोग गर्न, बीमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षण गराउन चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन अनुरोध गरेको छ।
त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार गर्न र प्रचलित कानुन, बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि तथा परिपत्रको पूर्ण पालना गर्न बोर्डले आग्रह गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा लाग्ने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक स्वास्थ्य सुरक्षाको प्रमुख कार्यक्रम हो।
सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीहरूका बाबजुद हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेका छन्। यसबाट दैनिक औसत करिब आठ करोड रुपैयाँ बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ।
यसैबीच, केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा देखिएको असहजता वा अस्थायी सेवा अवरोध समाधान गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको जानकारी दिँदै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।



