
दार्चुला – जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु २६ करोड ४८ लाख २७ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । विसं २०८१ असार २३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सो लक्ष्य पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल अस्पताल भवनको तेस्रो तला ढलानको काम भइरहेको छ । “काम निरन्तर भइरहे जस्तो देखिए पनि उल्लेख्य भौतिक प्रगति देखिएको छैन”, उनले भने । गत वर्ष २०८२ मङ्सिर मसान्तसम्म म्याद थप गरिएको भए पनि उक्त म्यादसमेत सकिएको उनको भनाइ छ । अहिले पनि काम जारी छ । भवनको तेस्रो तला ढलान गरिएको छ । भवन निर्माणका लागि म्याद थपको प्रक्रिया चलिरहेको निर्माण कम्पनीले जनाएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठ भवन निर्माणको लागि दोस्रो पटक म्याद थपका लागि प्रक्रिया अघि बढेको बताए । निर्माण कम्पनीबाट विभागमा म्याद थपका लागि फाइल गएको छ । “अहिलेको मितिमा म्याद थप गरिएको पत्र हामी कहाँ आइपुगेको छैन”, इन्जिनियर श्रेष्ठले भने ।




