काठमाडौं– आजको व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीसँगै टाउको दुख्ने समस्या घर–घरमा देखिन थालेको छ। बिहान उठ्नेबित्तिकै टाउको भारी हुने, दिनभर चर्को दुखाइले सताउने वा साँझसम्म पनि टाउको दुखिरहने समस्या अहिले धेरैको दैनिकी बनेको छ।
यस्तो अवस्थामा अधिकांश मानिस चिकित्सकको सल्लाह नलिई सजिलै पाइने पेनकिलरमा निर्भर हुने गरेका छन्। तर विज्ञहरूका अनुसार बारम्बार औषधि सेवन गर्नु दीर्घकालीन रूपमा शरीरका लागि हानिकारक हुन सक्छ। यदि औषधि खाँदा–खाँदै पनि टाउको दुखाइ कम भइरहेको छैन भने समस्या औषधिको कमी होइन, तपाईंको जीवनशैलीमा लुकेका गलत बानी नै हुन सक्छन्।
स्वास्थ्य विशेषज्ञहरू भन्छन्—’आजको अव्यवस्थित दैनिकी, असन्तुलित खानपान, अपर्याप्त निन्द्रा र मानसिक तनाव टाउको दुखाइका प्रमुख कारक हुन्। त्यसैले औषधिमा निर्भर हुनुअघि यी कारणहरूबारे सचेत हुनु अत्यन्त जरुरी छ।’
टाउको दुख्ने प्रमुख कारणहरू
लगातार टाउको दुख्नु सामान्य अवस्था होइन। धेरैजसो अवस्थामा यो हाम्रो आफ्नै जीवनशैलीका गल्तीको परिणाम हो। समयमै यी बानी सुधार गर्न सके अनावश्यक औषधि सेवनबाट मात्र होइन, दीर्घकालीन स्वास्थ्य समस्याबाट पनि जोगिन सकिन्छ। लामो समय मोबाइल र कम्प्युटर प्रयोग, अनियमित खानपान र पर्याप्त विश्रामको कमीले सुरुआतमा सामान्य देखिने टाउको दुखाइलाई पछि माइग्रेन वा दीर्घकालीन समस्यामा रूपान्तरण गर्न सक्छ।
१. बिहानको नास्ता वा खाजा नखानु
बिहानको नास्ता दिनभरिकै सबैभन्दा महत्वपूर्ण भोजन हो। रातभरको लामो अन्तरालपछि शरीर र दिमागलाई ऊर्जा आवश्यक हुन्छ। बिहान खाना नखाँदा रगतमा चिनीको मात्रा घट्छ, जसले दिमागमा प्रत्यक्ष असर पार्छ। यसका कारण टाउको भारी हुने, चक्कर लाग्ने र चर्को दुखाइ सुरु हुन्छ। तौल घटाउने नाममा भोकै बस्नु, व्रत बस्नु वा चियामात्र पिएर घरबाट निस्कनु पनि टाउको दुखाइको प्रमुख कारण हो। पेट खाली हुँदा एसिडिटी र ग्यास बढेर टाउकोसम्म असर पुर्याउँछ। चिकित्सकहरू थोरै–थोरै तर पौष्टिक खाना समयमै खान सुझाव दिन्छन्।
२. अत्यधिक मानसिक तनाव
कामको चाप, आर्थिक समस्या, पारिवारिक झन्झट र भविष्यको चिन्ताले मानिसलाई निरन्तर तनावमा राख्छ। लामो समयसम्मको मानसिक तनावले घाँटी र टाउकोका मांसपेशी कडा बनाउँछ, जसका कारण ‘टेन्सन हेडेक’ हुने गर्छ। साना कुरामा धेरै सोच्ने, रिस र चिन्ता मनमै दबाइराख्ने बानीले पनि टाउको दुखाइ बढाउँछ। तनाव व्यवस्थापन नगरे यसले दीर्घकालीन मानसिक तथा शारीरिक समस्या निम्त्याउन सक्छ।
३. शरीरमा पानीको कमी
पर्याप्त पानी नपिउनु आजको जीवनशैलीको अर्को ठूलो समस्या हो। शरीरमा पानीको मात्रा कम हुँदा टिस्युहरू संकुचित हुन्छन् र नसामा दवाव पर्छ, जसका कारण टाउको दुख्ने समस्या देखिन्छ। डिहाइड्रेशनका कारण हुने टाउको दुखाइ हिँड्दा, झुक्दा वा घाममा बस्दा झनै बढ्ने गर्छ। विशेषज्ञहरू दिनभर कम्तीमा ८–१० गिलास पानी पिउन सल्लाह दिन्छन्। चिया, कफी वा चिसोपेय पदार्थलाई पानीको विकल्प ठान्नु गलत हो।
४. पर्याप्त निन्द्रा नलिनु
मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा अनियमित जीवनशैलीका कारण धेरैले आवश्यक निन्द्रा लिन सकेका छैनन्। निन्द्राको कमीले नर्भस सिस्टममा सीधै असर गर्छ। राति ७–८ घण्टा गहिरो निन्द्रा नपुग्दा दिमागले पर्याप्त आराम पाउँदैन र तनाव बढाउने हर्मोन सक्रिय हुन्छ। यसको परिणामस्वरूप बिहान टाउको भारी हुने, दिनभर थकान महसुस हुने र बारम्बार टाउको दुख्ने समस्या देखा पर्छ। लामो समयसम्म यस्तो अवस्था रहे माइग्रेनको जोखिम समेत बढ्ने चिकित्सकहरूको भनाइ छ।
बारम्बार टाउको दुख्नु सामान्य समस्या जस्तो देखिए पनि यसलाई बेवास्ता गर्नु हुँदैन। औषधिमा निर्भर हुनुभन्दा पहिले आफ्नो जीवनशैली, खानपान, निन्द्रा र मानसिक स्वास्थ्यमा सुधार ल्याउनु आवश्यक छ। सन्तुलित आहार, पर्याप्त पानी, नियमित निन्द्रा र तनावमुक्त जीवनशैली अपनाउन सके टाउको दुखाइको समस्या धेरै हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ।
यी सबै सुधारपछि पनि टाउको दुखाइ निरन्तर रहिरहेमा भने ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा सुरक्षित र उपयुक्त उपाय हो।







