काठमाडौं- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिस्ट्रार पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौंमा आज बसेको विश्वविद्यालयसभाको दोस्रो बैठकले उपकुलपति र रजिस्ट्रारको नियुक्ति गरेको हो।
विश्वविद्यालयसभा सदस्यसमेत रहेका गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टका अनुसार उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशी नियुक्त भएका छन्।
यसअघि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा रहेको उपकुलपति र रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपतिमा जोशी र रजिस्ट्रारमा तीन जनाको नाम सिफारिस गरेको थियो। रजिस्ट्रारमा सिफारिस गरिएका अन्य दुई जनालाई वैकल्पिक सूचीमा राखिएको छ।
उपकुलपतिमा तेस्रो पटक विज्ञापन खोलेपछि दुई जनाले आवेदन दिएका थिए। त्यसमध्ये जोशीको मात्रै आवेदन स्वीकृत भएको थियो।
विश्वविद्यालयसभा सदस्य भट्टका अनुसार आगामी सिनेट बैठक विश्वविद्यालयमै गर्ने पनि सहमति भएको छ। बैठकमा विश्वविद्यालयका लागि निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण, तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन र एमबीबीएस अध्ययन सुरु गर्नेबारे पनि छलफल भएको उनले बताए।







