गोरखा- गोरखामा परालको थुप्रो (टौवा)मा उम्रिएको च्याउको तरकारी खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् ।
मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हिरा पहरीको परिवार विषालु च्याउ सेवनका कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रोमा उम्रिएको च्याउ टिपेर पकाएर खाएपछि आमा हिरा पहरीसहित १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।
च्याउ खाए लगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि चारै जनालाई तत्काल उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल लगिएको थियो । हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिरामी सबैको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।







