काठमाडौँ- काठमाडौँ उपत्यकामा ४० वर्षभन्दा माथिका बासिन्दाको आँखा स्वास्थ्यबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययन सार्वजनिक गरिएको छ। नेपाल आँखा कार्यक्रम र तिलगंगा इन्स्टिट्युट अफ अफ्थाल्मोलोजीले २०२२–२०२४ बीच गरेको काठमाडौँ आँखा अध्ययन ले राजधानीवासीमा आँखाका रोगको दर अत्यधिक उच्च रहेको देखाएको छ।

नतिजा सार्वजनिक कार्यक्रममा स्वास्थ्य सचिव डा. बिकास देवकोटा र तिलगंगाका कार्यकारी निर्देशक डा. सन्दुक रुइटले अध्ययनले नीति निर्माणका लागि ठोस प्रमाण दिएको बताए। प्रमुख अनुसन्धानकर्ता डा. रिता गुरुङले विस्तृत निष्कर्ष प्रस्तुत गरे।
अध्ययनमा ४,९९० सहभागीमध्ये ९७.७ प्रतिशतमा कम्तीमा एक प्रकारको आँखा रोग भेटियो। अन्धोपनका ४१.७ प्रतिशत केस मोतियाबिन्दुका कारण देखिए भने लगभग ८० प्रतिशत दृश्यदोष अपवर्तक त्रुटिका कारण भएको पाइयो।

सामान्य स्वास्थ्य सूचकमा ६९.४ प्रतिशत मा उच्च रक्तचाप र ४७.२ प्रतिशत मा मधुमेह भेटियो। मधुमेहीमध्ये ७.३% मा मधुमेह रेटिनोप्याथी पत्ता लाग्यो। ४३.५ प्रतिशत अधिक तौल र २३ प्रतिशत मोटोपना पनि भेटिएको अध्ययनले देखायो।
अध्ययनले काठमाडौँमा मोतियाबिन्दु, अपवर्तक त्रुटि, मधुमेह रेटिनोप्याथी, ग्लुकोमा र उमेरजन्य म्याकुलर डिजेनेरेशनको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ। विशेषज्ञहरूका अनुसार शहरीकरण, जीवनशैली परिवर्तन र नियमित आँखा परीक्षणको कमी मुख्य कारण हुन्। राजधानीमा आँखा स्क्रिनिङ, सेवा पहुँच र आईपीईसी मोडेलअन्तर्गत दीर्घरोग व्यवस्थापन थप बलियो बनाउन अध्ययनले सुझाएको छ।







