

काठमाडौँ – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम नेपाल (हाप्सा नेपाल) ले आपतकालीन स्वास्थ्य समस्या तथा चोटपटकसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउने मोबाइल एप सार्वजनिक गरेको छ। संस्थाले बुधबार काठमाडौँको दरबार हाई स्कुलमा आयोजित कार्यक्रममा ‘कम्युनिटी इमर्जेन्सी रेस्पोन्स टुलकिट (सीईआरटी)’ नामक उक्त एप औपचारिक रूपमा लॉन्च गरेको हो।
‘सडक साथी’ नामक संस्थाको प्राविधिक सहयोगमा विकसित गरिएको यस एपमा आपतकालीन अवस्थाको प्राथमिक उपचारका विधि नेपाली भाषामा सरल शैलीमा सिकाइने १९ वटा भिडियो समावेश गरिएको हाप्सा नेपालले जनाएको छ। एपमा घाँटीमा अड्किने (चोकिङ) समस्या, रक्तस्राव नियन्त्रण, जलन, हड्डी भाँचिएको अवस्थामा गर्नुपर्ने प्राथमिक उपचार, मुटु चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन स्वास्थ्य स्थितिमा कसरी हेरचाह गर्ने भन्ने विषय समेटिएको छ।
यी भिडियोहरू हाप्सा नेपालका संस्थापक डा. रामु खरेल तथा अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूको सुझावअनुसार तयार पारिएको हो। ग्लोबल हेल्थ मिडियाको प्राविधिक सहयोगमा निर्माण गरिएका भिडियोहरू एपमा अपलोड गरिएका छन्, जसलाई प्रयोगकर्ताले अफलाइन डाउनलोड गरेर पनि हेर्न सक्ने सुविधा राखिएको छ।
डा. खरेलका अनुसार सीपीआरसहितका प्राथमिक उपचारका ज्ञान हरेक विद्यालय वा समुदायमा भौतिक रूपमा तालिम दिन कठिन भएकाले डिजिटल माध्यममार्फत् व्यापक पहुँच पुर्याउने उद्देश्यले एप विकास गरिएको हो। हाप्सा नेपालका सीपीआर विभागका कार्यकारी प्रमुख डा. कमल थापाले पनि अकस्मात मुटु रोकिएको समयमा सीपीआर पाउने व्यक्तिको ज्यान बच्ने सम्भावना दुईदेखि तीन गुणासम्म बढ्ने तथ्य उल्लेख गर्दै जनस्तरमा यस्तो ज्ञान फैलिनु अत्यावश्यक रहेको बताए।
हाल सीईआरटी एप एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ। एप्पलको आईओएस भर्सन भने आगामी हप्तासम्ममा एप स्टोरमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको ‘सडक साथी’ का संस्थापक निपुन न्यौपानेले जानकारी दिए।



