नवलपरासी – मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् ।
कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए । “पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उनले भने, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताए । स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उहाँले बताउनुभयो । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना)ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ ।
कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताए । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ ।








