काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्र स्वास्थ्य मन्त्री बन्ने पक्का भएको छ। प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन–जी नेता अनिल बानियाँका अनुसार मिश्राको नाम अन्तिम टुंगो लागिसकेको हो।
बानियाँले दिएको जानकारीअनुसार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय महावीर पुनले नेतृत्व गर्नेछन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी जगदीश खरेलले पाउने भएका छन्।
डा. मिश्राले हालै सरकारी सेवाबाट राजीनामा दिएकी थिइन्। सचिव बढुवा सम्बन्धी विवादप्रति असन्तुष्टि जनाउँदै उनी करिब ६ महिनादेखि बिदामा रहेकी थिइन्। तर जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठनसँगै मन्त्रालयमा पुनः हाजिर भएकी थिइन्। उनको राजीनामासमेत स्वीकृत भइसकेको छ।

यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेपछि मिश्राले असन्तुष्टि जनाएकी थिइन्। पौडेलले गत भदौ २४ गते आन्दोलनकै बीचमा पद त्यागेपछि मिश्राले मन्त्रालयमै उपस्थित भई सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि पहिलो रोजाइमा डा. भगवान कोइराला र दोस्रो रोजाइमा डा. सन्दुक रुइतलाई प्रस्ताव गरेकी थिइन्। तर दुवैले अस्वीकार गरेपछि तेस्रो रोजाइका रूपमा मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।








