

काठमाडौं – नेपाल औषधी उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामार्फत अगाडि बढ्ने भएको छ। अध्यक्ष पदका उम्मेदवार विप्लव अधिकारी र दीपक प्रसाद दाहालबीच सहमति जुटाउन गरिएको प्रयास विफल भएपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो।
संघको ३१औं वार्षिक साधारणसभा आज काठमाडौंमा हुँदैछ। यही साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। अहिले संघको बन्दसत्र जारी छ।
अध्यक्ष पदका लागि विप्लव अधिकारी र दीपक दाहालले आइतबार नै उम्मेदवारी दर्ता गरिसकेका छन्। अधिकारीलाई सन्तोष बराल र प्रभात रुङ्गटासहितका सदस्यहरूले समर्थन जनाएका छन्। अधिकारी यसअघि महासचिव भइसकेका छन् भने अघिल्लो कार्यकालमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा हालका अध्यक्ष महेश प्रधानसँग पराजित भएका थिए। अर्का उम्मेदवार दीपक दाहाल भने संघका पूर्व अध्यक्ष हुन्।
निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार अध्यक्ष पदका दुईसहित कुल १७ जनाले उम्मेदवारी दिएका छन्। तर संशोधित विधानअनुसार आगामी कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति मात्र रहनेछ। निर्वाचन समितिले मतदान समय दिउँसो १ बजेदेखि ३ बजेसम्म तोकेको छ।
सदस्य पदका लागि उम्मेदवारी दिनेहरूमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहाल रहेका छन्।
संघले विधान संशोधन गर्दै सचिव र एक सदस्य थप गरी १३ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको हो। अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र छ जना सदस्य रहने प्रावधान गरिएको छ।
निर्वाचित अध्यक्षले अन्य पदाधिकारीहरू (बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष) चयन गर्नेछन् भने बाँकी सदस्यहरू स्वतः निर्वाचित हुनेछन्। संघमा आबद्ध ६४ वटा औषधि उत्पादक कम्पनीहरूले मतदान गर्नेछन्।



