
काठमाडौं -नेपाली फार्मास्युटिकल क्षेत्रमा नवीन सोच र प्रविधिको परिचायक बनेको म्याग्नस फार्मा अब नेपालमै पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन गर्ने कम्पनी बनेको छ । ‘मोमेकोर’ ब्रान्ड नाममा बजारमा ल्याइएको यो औषधि म्याग्नसले पहिलो पटक स्वदेशमै उत्पादन गरेको हो ।
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल् स्प्रे सामान्यतः एलर्जिक राइनाइटिस, नाकका पोलिप्सजस्ता समस्याका लागि प्रयोग गरिन्छ । यसअघि यो औषधि पूर्ण रूपमा विदेशबाट आयात गरिँदै आएकोमा म्याग्नसले स्वदेशमै यसको उत्पादन थालेसँगै औषधि आत्मनिर्भरता तर्फ नेपालले एक महत्वपूर्ण पाइला चालेको विश्वास गरिएको छ ।
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले भने, “हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं । यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल् स्प्रे उत्पादन सुरु गरेका छौं । यो मात्र सुरुवात हो । हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं ।”
हालसम्म नेपाली फार्मास्युटिकल उद्योगमा न्याजल् स्प्रे उत्पादन नभएको अवस्थामा म्याग्नसको यो कदमले उद्योगमा नयाँ आयाम थपेको बताइएको छ । यो उपलब्धिले आयातमा निर्भरता घटाउने मात्र होइन, स्वदेशमै गुणस्तरीय औषधि उत्पादनको सम्भावनालाई पनि सशक्त बनाएको उद्योग विश्लेषकहरू बताउँछन् ।


