

बाँके- डुडुवा गाउँपालिकाले बाढी र डुबानबाट प्रभावित विपन्न बासिन्दाका लागि पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ। गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीका अनुसार राप्ती नदी तटीय क्षेत्रका बासिन्दा झाडापखाला, हैजा, लुतो र छालासम्बन्धी रोगको संक्रमणबाट बारम्बार प्रभावित हुने भएकाले अस्पताल स्थापना गरिएको हो।
अध्यक्ष चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण नेपालगन्जका ठूला अस्पतालसम्म पुग्न नसक्ने बाढीपीडितहरू जोखिममा पर्दै आएको बताए। त्यस्ता समुदायलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क उपचार सेवा दिन अस्पताल निर्माण गरिएको हो।
गाउँपालिकाका डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीको बाढीले अधिकांश बस्ती जलमग्न हुने गरेको अध्यक्ष चौधरीले बताए। नदीले तीनतिरबाट घेरिएको चौफेरी बस्तीका बासिन्दालाई बाढीका बेला ज्यान जोगाउनसमेत कठिन हुने परिस्थिति रहेको छ।
बाढी सुरु हुनु अगावै बेतहनीमा अस्पताल सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाले गरेको छ, जसले बाढी तथा डुबानका बेला सहर जान नसक्ने बिरामीलाई तटीय क्षेत्रमै उपचार सुविधा पुर्याउनेछ।
बेतहनी निवासी रामफेरन गुप्ताले बाढीपछि फैलिने सरुवा रोगहरूको समयमा उपचार नहुँदा ज्यान जोखिममा पर्ने गरेको अनुभव सुनाए। उनले गाउँमै अस्पताल बनेपछि धेरैले तत्काल उपचार पाउने आशा पलाएको बताए।
उनका अनुसार राप्ती नदी र अन्य नालाले बस्तीमा बाढी ल्याउने क्रम हरेक वर्ष दोहोरिने गर्छ। त्यसले गर्दा झाडापखाला र हैजा जस्ता महामारी फैलिने अवस्था सधैं उत्पन्न हुने गरेको छ।



