

सुर्खेत- कर्णाली प्रदेशका एक लाखभन्दा बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका एक लाख २९ हजार किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो ।
उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुने छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन लागिएको हो ।
सूचना अधिकारी कँडेलका अनुसार खोप अभियान अन्तर्गत मुगुका चार हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाइने छ । यस्तै डोल्पा दुई हजार ६४१, हुम्लाका तीन हजार ७३६, जुम्लाका आठ हजार ८२९, कालीकोटका ११ हजार ९२३, रुकुमपश्चिमका १२ हजार १०६, सल्यानका १४ हजार ५१३, सुर्खेतका २८ हजार ३४०, जाजरकोटका १५ हजार ५९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाउन लागिएको हो ।



