

काठमाडौं- काेराेना महामारीको सुरु भएको पाँच वर्षपछि चीनमा अर्को नयाँ भाइरसको संक्रमण देखिएको छ । उत्तरी चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) नामको यो भाइरसको संक्रमण बढी देखिएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यो भाइरसका कारण व्यक्तिमा रुघाखोकी र कोभिड–१९ जस्ता लक्षण देखा पर्न थालेको छ र यो तीव्र गतिमा फैलिरहेको छ । यो नयाँ भाइरसले विशेषगरी १४ वर्ष मुनिका बालबालिकालाई असर गरिरहेको छ ।
चीनमा फालिएको यस भाइरसका कारण नेपालसहित छिमेकी देशहरूमा चिन्ता बढाएको छ । चीनमा फ्लूको मौसमलाई विचार गर्दा, अवस्था सामान्य नभएको बताइएको छ । चीनको आधिकारिक समाचार वेबसाइट ग्लोबल टाइम्सका अनुसार उत्तरी चीनका क्षेत्रहरू बाहेक, एचएमपीभीका घटनाहरू बेइजिङ, दक्षिणपश्चिमी सहर चोङकिङ, दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तमा रिपोर्ट गरिएको छ।
प्रतिवेदनका अनुसार यस भाइरसको स्रोतको बारेमा अहिलेसम्म कुनै जानकारी फेला परेको छैन । साइन्स डाइरेक्टका अनुसार यो भाइरस २०० देखि ४०० वर्ष पहिले चराबाट उत्पत्ति भएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफुलाई परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चराहरूलाई संक्रमित गर्न सक्दैन ।
यो भाइरसले सबै उमेरका मानिसलाई सर्न सक्छ । जसका कारण बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्ता समस्या हुने गरेको छ । तर, यदि संक्रमण बढ्यो भने, यो भाइरस ब्रोंकाइटिस वा निमोनियाको लागि जिम्मेवार हुन सक्छ ।
यो भाइरसको इन्क्युबेशन अवधि सामान्यतया तीन देखि छ दिनको हुन्छ, तर रोगको अवधि कम वा बढी हुन सक्छ । यो संक्रमण कति गम्भीर छ भन्नेमा निर्भर गर्दछ । यो भाइरस खोकी र हाछ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र संक्रमित हुन्छ । यो हात मिलाएर, अंगालो हालेर वा एकअर्कालाई छुँदा पनि फैलिन सक्छ ।
यदि खोक्दा वा हाछ्युँ गर्दा थुकको कण सतहमा खसेको छ र त्यो सतह छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ । एचएमपीभी भाइरसबाट संक्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेको छ भने त्यसबाट टाढा रहन चिकित्सकहरुले सल्लाह दिएका छन् । अमेरिकी सरकारको सीडीसीका अनुसार कम्तिमा २० सेकेन्डसम्म साबुन र पानीले हात धुन सल्लाह दिएको छ ।
अहिलेसम्म यो भाइरसको लागि कुनै विशेष एन्टिभाइरल औषधि तथा खोप बनेको छैन ।
विशेषज्ञ डा अनुप सुवेदीले ‘ह्युमन मेटान्युमो’ को संक्रमण फैलिएको समाचार आएपछि आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘त्यसैले भाइरसमा कुनै विशेष उत्परिवर्तन (म्युटेसन) नभईकन यसले मात्रै अहिले चीनमा देखिएकै हो भने अस्पताल नै टनाटन हुने अवस्था ल्याउँदैन । यो भाइरस इन्फ्लुएन्जा वा पछिल्लो समयको कोभिडजस्तो चाँडो–चाँडो नयाँ उत्परिवर्तन हुने भनेर चिनिएको भाइरस पनि होइन ।’



