कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा घरपालुवा खरायोमा रेबिज पुष्टि भएको छ । अस्वाभाविक लक्षण देखिएर मरेको खरायोमा परीक्षण गर्दा रेबिज पुष्टि भएको हो । पुस १० गते बिहीवार भीमदत्त नगरपालिका–६ का एक किसानले पालेको खरायोमा रेबिज संक्रमण पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख पशु चिकित्सक डाक्टर नरेशप्रसाद जोशीले बताए ।
‘खरायोले मानिसलाई समेत टोकेको थियो । मानिसलाई टोकेको ७ दिनमा खरायो आफैं मरेपछि रेबिज संक्रमण भएको आशंका लागेर परीक्षण गरिएको थियो’, उनले भने, ‘परीक्षण गर्दा रेबिज संक्रमण भएको पुष्टि भएको हो ।’

खरायोमा रेबिज कसरी स¥यो भन्ने कुरा भने यकिन भएको छैन । पशुचिकित्सकले रेबिज संक्रमित कुकुरले टोक्दा खरायोमा संक्रमण भएको अनुमान गरेका छन् ।

सुदूरपश्चिममा डेढ वर्षको अवधिमा मात्रै दुई सयभन्दा बढी चौपायामा रेबिज पुष्टि भएको छ । अहिलेसम्म गाई, भैंसी, कुकुर बिरालो, घोडा, जङ्गली बँदेल र खरायोसहित १० प्रजातिका चौपायामा रेबिज पुष्टि भएको डाक्टर जाेशीले बताए ।
कैलाली र कञ्चनपुरमा अहिलेसम्म १० प्रजातिका चौपायामा रेबिज पुष्टि भएको छ । गाई, भैंसी, कुकुर, स्याल, बङ्गुर, बाख्रा, घोडा, जङ्गली बँदेल, बिरालो लगायत १० प्रजातिका पशुमा रेबिज पुष्टि भएको डाक्टर जोशीले बताए । सुदूरपश्चिममा चौपायामा रेबिज संक्रमण हुने दर बढेको पाइएको छ ।
स्तनधारी जनावरमा मात्रै हुने रेबिज संक्रमण उक्त पशुले टोकेमा ¥याल मार्फत सर्छ । रेबिज संक्रमण रोक्न नियन्त्रणका प्रयास गर्नुपर्ने पशुचिकित्सकले बताएका छन् । चौपायाले टोकेमा रेबिज विरुद्धको खोप लगाउने, घरपालुवा कुकुर, बिरालो र सामुदायिक कुकुरलाई समेत खोप लगाउनुपर्ने पशुचिकित्सक डाक्टर जोशीले बताए । रेबिज संक्रमण हुन नदिन सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुपर्ने उनले बताए ।







