

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वदेशी औषधिको मूल्य समायोजन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । नेपाल औषधि उत्पादन संघ (एपोन)को ३० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
स्वदेशी औषधिलाई प्रोत्साहन गर्न आफ्नो पूर्ण साथ र सहयोग हुने उल्लेख गर्दै मन्त्री पौडेलले आवश्यक छलफलका लागि आउन स्वदेशी औषधि कम्पनि सञ्चालकहरुलाई आव्हान गरे ।
साथै उनले स्वास्थ्य मन्त्रालय र औषधि एक अर्काका प्रतिद्वन्द्वी नभएको बताएका छन् । ‘औषधि उत्पादक र स्वास्थ्य मन्त्रालयबीच द्वन्द्व गर्नुपर्ने कुनै छैन । औषधि उत्पादक व्यवयायी र स्वास्थ्य मन्त्रालय आमुन्ने–सामुन्ने होइनन्’ उनले भने ।
उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक नीति निर्माण गर्न तयार रहेको बताए । विधेयकमा स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने कुरा स्पष्ट उल्लेख गरेको पनि मन्त्री पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष महेश प्रधानले औषधि उद्योगहरु धरासायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले सरकारको पूर्ण सहयोग भएमा स्वदेशी औषधि निर्यात गरेर राज्यलाई राम्रो आम्दानी दिनसक्ने उल्लेख गरे ।


