

बुटवल : रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले पछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी दिए ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०२२ को अन्त्यसम्मको तथ्यांक अनुसार नेपालमा करिब ३० हजार मानिसहरूमा एचआईभी संक्रमण देखिएको थियो । हरेक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिने र बर्सेनि करिब ८ सयभन्दा बढीको मृत्यु हुने अनुमान छ ।
जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताएका छन् । उनले एचआईभी संक्रमित व्यक्तिको रगत स्वस्थ व्यक्तिको रगतमा मिसिएमा, असुरक्षित रगत उत्पादक सामग्रीहरू जस्तै सुईं वा अन्य चिकित्सा उपकरणहरूको साझा प्रयोग, असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित आमाबाट, स्तनपान, सुईं वा सिरिन्जबाट लागूपदार्थ लिने व्यक्तिहरू, अस्थायी आप्रवासी कामदारहरूमा एचआईभी संक्रमणको जोखिम उच्च हुने बताए ।



