काठमाडौँ । डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ। नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग पटकपटक छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि आन्दोलनमा उत्रिन बाध्य भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गरिने जानकारी दिएका छन्। एसोसिएसनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा सदस्यता तथा प्रतिनिधित्वको विषयमा स्वार्थको द्वन्द्व हुन नदिन, कानुनअनुसार पेसागत संघसंस्थाको उचित प्रतिनिधित्व सुनिश्चित गर्न र परिषद्को कामकारबाही पारदर्शी बनाउन माग गरेको छ।

एसोसिएसनले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १०(४) को व्यवस्था अक्षरशः कार्यान्वयन गर्नुपर्ने मागसमेत अघि सारेको छ। डेन्टल समुदायको छुट्टै निर्वाचन व्यवस्था हुने गरी परिषद्को नियमावली संशोधन गर्न र कार्यकाल समाप्त भएका सदस्यलाई जिम्मेवारीमा निरन्तरता नदिन पनि उसले माग गरेको छ।

त्यस्तै, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, परिषद् तथा पेसागत संघसंस्थाबीच विगतमा भएका सहमति र सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने एसोसिएसनको माग छ। परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुधार गर्नुपर्नेमा पनि उसले जोड दिएको छ।
परिषद्विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने व्यक्तिलाई स्वार्थको द्वन्द्व हुने गरी सम्बन्धित विषयको निर्णय प्रक्रियामा सहभागी नगराउनुपर्ने एसोसिएसनको भनाइ छ। निर्णय प्रक्रियामा निष्पक्षता कायम गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ।
यसैगरी परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्टलगायत सम्बन्धित जनशक्तिको पेसागत हकहित, सम्मान, सुरक्षा र कार्यक्षेत्र संरक्षण गर्नुपर्ने माग गरिएको छ। उनीहरूको अधिकार, कार्यक्षेत्र र अवसरसम्बन्धी निर्णय गर्दा सम्बन्धित पेसागत संघसंस्थासँग अनिवार्य परामर्श र समन्वय गर्नुपर्ने एसोसिएसनले जनाएको छ।







