वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जले नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा उपचारका क्रममा १५ दिने शिशुको मृत्यु भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । अस्पतालले शिशुलाई भर्ना गराउँदा नै स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको र विशेषज्ञ चिकित्सकको निगरानीमा सघन उपचार गरिएको जनाएको छ ।
अस्पतालले मंसिर ३ गते जारी गरेको विज्ञप्तिअनुसार शिशुलाई गत कात्तिक २९ गते साँझ करिब ७ः२० बजे आकस्मिक कक्षमा ल्याइएको थियो । शिशुलाई तीन दिनदेखि ज्वरो आउने, शरीर पहेँलो हुने र अस्पताल ल्याउनुअघिको सात घण्टाभित्र पाँचदेखि सात पटकसम्म कम्पन (सिजर) आएको समस्या थियो ।

प्रारम्भिक परीक्षणका क्रममा शिशु अत्यन्त शिथिल रहेको, प्रतिक्रिया दिने क्षमता कमजोर भएको र शरीरको पहेँलोपन पैतालासम्म फैलिएको पाइएको अस्पतालले जनाएको छ । रगत परीक्षण गर्दा शिशुको टोटल सिरम बिलिरुबिनको मात्रा २६.४ मिलिग्राम प्रतिडेसिलिटर पाइएको थियो ।
अस्पतालका अनुसार नवजात शिशुमा बिलिरुबिनको मात्रा यति धेरै हुँदा मस्तिष्कमा गम्भीर असर पर्न सक्ने जोखिम हुन्छ । यसबाट एक्युट बिलिरुबिन इन्सेफालोप्याथी र कर्निक्टेरसजस्ता गम्भीर स्नायु सम्बन्धी समस्या उत्पन्न हुन सक्ने सम्भावना रहन्छ ।

शिशुमा पटकपटक कम्पन आउने, प्रतिक्रिया कमजोर हुने, बिलिरुबिनको मात्रा अत्यधिक हुने तथा सम्भावित संक्रमणका लक्षण देखिएकाले सुरुदेखि नै अवस्था गम्भीर रहेको अस्पतालको दाबी छ । यस्तो अवस्थामा तत्काल विशेषज्ञको निगरानीमा सघन उपचार आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था, सम्भावित जटिलता, उपचारको आवश्यकता र जोखिमबारे बालरोग तथा एनआईसीयूका विशेषज्ञ चिकित्सकले अभिभावकलाई परामर्श दिएका थिए । त्यसपछि विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
मंसिर १ गते उपचारका क्रममा शिशुको निधन भएको घटनाप्रति अस्पतालले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।







