काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न महाशाखा तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा स्रोतका अनुसार उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सरुवा गरिएको छ । उनको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठको जिम्मेवारी परिवर्तन गर्दै डा. रायमाझीलाई केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

यसैगरी, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखमा डा. अमृत पोखरेललाई जिम्मेवारी दिइएको छ । केन्द्रमा कार्यरत डा. हेमन्त ओझालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।
उक्त महाशाखामा कार्यरत डा. फणीन्द्र बराललाई भने कान्ति बाल अस्पतालमा पठाइएको छ ।
यस्तै, परिवार कल्याण महाशाखामा कार्यरत शर्मिला दाहाललाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा सरुवा गरिएको छ भने उक्त महाशाखामा कार्यरत कविता अर्याललाई परिवार कल्याण महाशाखामा पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।








