काठमाडौं । नेपाल नेत्ररोग विशेषज्ञ समाज (नेपाल अप्थाल्मिक सोसाइटी–एनओएस) को आयोजनामा भएको २८औँ अन्तर्राष्ट्रिय नेत्र चिकित्सा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा १४ देशका ६० भन्दा बढी विदेशी नेत्ररोग विशेषज्ञसहित ४५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा १५० भन्दा बढी वक्ताले विभिन्न वैज्ञानिक तथा प्राविधिक विषयमा प्रस्तुति दिएका थिए ।
‘आँखा, दृष्टि र आत्मविश्वास पुनर्निर्माणका लागि उपविशेषज्ञताको एकीकरण’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा नेत्र चिकित्साका विभिन्न विधामा भएका नवीनतम उपचार पद्धति, प्रविधि, अनुसन्धान र अनुभव आदानप्रदान गरिएको थियो ।
सम्मेलनअन्तर्गत २८औँ एनओएसकन, नवौँ एसिया–प्यासिफिक अप्थाल्मिक ट्रमा सोसाइटी (एपीओटीएस) कंग्रेस र छैटौँ नेप्लिज सोसाइटी अफ अकुलोप्लास्टिक सर्जन्स कंग्रेस आयोजना गरिएको थियो । यसैक्रममा अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीको विशेष शैक्षिक सत्रसमेत सञ्चालन गरिएको थियो ।
त्यस्तै, मेडिकल अधिकृत तथा अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीका लागि आँखाको चोटपटक अर्थात् अकुलर ट्रमा व्यवस्थापनसम्बन्धी व्यावहारिक कार्यशाला आयोजना गरिएको थियो ।
सम्मेलनका अवसरमा नेपाल नेत्ररोग विशेषज्ञ समाजले ताइवान अप्थाल्मोलोजिकल सोसाइटी, एसीओआईएन र अप्थाल्मोलोजिकल सोसाइटी अफ बंगलादेशसँग अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक आदानप्रदान अघि बढाउन पहल गरेको छ ।
नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशीले १४ देशका नेत्ररोग विशेषज्ञको सहभागिताले नेपाली नेत्र चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन सहयोग पुगेको बताए ।

सोसाइटीका महासचिव तथा सम्मेलनका आयोजक सचिव डा. तेजुसिंह मल्लले पहिलो पटक एपीओटीएस कंग्रेससहित तीनवटा सम्मेलन एकैसाथ आयोजना हुनु नेपाली नेत्र चिकित्सक समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।
सम्मेलनका अवसरमा नेत्र चिकित्सा शिक्षा, अनुसन्धान, सामुदायिक आँखा स्वास्थ्य तथा संस्थागत विकासमा योगदान पुर्याएका स्वदेशी तथा विदेशी चिकित्सकलाई विभिन्न अवार्ड प्रदान गरी सम्मान गरिएको छ ।
दीर्घकालीन योगदानको कदर गर्दै चार जना वरिष्ठ नेत्ररोग विशेषज्ञलाई ‘एनओएस लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्नेमा प्रा.डा. सुनु दुलाल, प्रा.डा. ज्योति बाबा श्रेष्ठ, प्रा.डा. दामोदर प्रधान र प्रा.डा. देवनारायण शाह रहेका छन् ।
त्यस्तै, ‘क्योर ब्लाइन्डनेस प्रोजेक्ट’का सहसंस्थापक तथा स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. जेफ ट्याबिनलाई अन्धोपन निवारण र हिमाली तथा विकासोन्मुख क्षेत्रमा आँखा उपचार सेवा विस्तारमा पुर्याएको योगदानको कदर गर्दै ‘प्रा.डा. मदनप्रसाद उपाध्याय नेम्ड लेक्चर अवार्ड’ प्रदान गरिएको छ ।
यसैगरी विभिन्न चिकित्सा विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयमा अध्ययनरत उत्कृष्ट आवासीय चिकित्सकलाई ‘प्रा.डा. रामप्रसाद पोखरेल बेस्ट रेसिडेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्नेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) की डा. दीप्ती पौडेल, त्रिभुवन विश्वविद्यालयकी डा. सतेन्ला रुइत, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजकी डा. न्यान्सी गोयल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विनय कामत रहेका छन् ।








