कास्की । पोखरामा औषधि पसलको आवरणमा लागुऔषधको कारोबार भइरहेको खुलेको छ। पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट ठूलो परिमाणमा लागुऔषधजन्य औषधि बरामद भएपछि यस्तो तथ्य बाहिर आएको हो।
प्रहरीले औषधि पसलकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई लागुऔषधका चक्कीसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा बुधबार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पसलमा जाँच गरेको थियो। जाँचका क्रममा सञ्चालिकाको साथबाट चार प्रकारका लागुऔषधजन्य औषधि बरामद गरिएको हो।
प्रहरीका अनुसार ढुङ्गानाको साथबाट कोडिप–पी (कोडिन) का ६ हजार ४०० चक्की, प्रेगाबालिनका ४५० चक्की, लोराजेपामका १५० चक्की र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद भएका छन्।
प्रहरी नायब उपरीक्षक पासवानले लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मार्दा ठूलो परिमाणमा औषधि फेला परेको बताए। औषधि बिक्री तथा वितरणका लागि सञ्चालन गरिएका फार्मेसीबाटै यस्ता औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको उनको भनाइ छ।
पक्राउ परेकी ढुङ्गानामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता कारोबारमा संलग्न औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।









