सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएसँगै जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकाका छन्। दार्मामा २८१ जनामा संक्रमण देखिएको छ भने बागचौर नगरपालिकामा २४७, कुमाख गाउँपालिकामा ८२, कपुरकोट गाउँपालिकामा ६९, जिल्ला अस्पताल सल्यानमा ६६ र छत्रेश्वरी गाउँपालिकामा ५१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, बन्गाड कुपिण्डे नगरपालिकामा ११, त्रिवेणी गाउँपालिकामा ६, सिद्धकुमाख गाउँपालिकामा ३ र कालिमाटी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार मल्लमा असोज २८ गते गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पतालमा उपचार गराएर घर फर्किएका मल्लमा पुनः श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिएपछि थप उपचारका लागि घोराही हुँदै नेपालगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बस्नेतले जानकारी दिए।
वर्षायाममा बढी देखिने स्क्रब टाइफसको संक्रमण पछिल्लो समय घट्दै गए पनि जिल्लामा यसको जोखिम कायमै रहेको छ। संक्रमितको संख्या उल्लेख्य रहेकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन्।
स्क्रब टाइफस संक्रमित माइटको टोकाइबाट सर्ने भएकाले घाँसदाउरा गर्दा शरीर पूरै ढाक्ने कपडा लगाउन, बुट तथा पञ्जा प्रयोग गर्न र घरवरपरका झाडी सफा राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।
ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा माइटले टोकेको ठाउँमा कालो दाग देखिने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा जाँच गराउन पनि उनीहरूले आग्रह गरेका छन्।









