काठमाडौं २, कार्तिक । भारतले क्यान्सर उपचारमा प्रयोग हुने १ सय ३७ थरि औषधिको व्यापारिक मार्जिनमा सीमा तोकेको छ। यससँगै ती औषधिको अधिकतम खुद्रा मूल्य हालको मूल्य संरचनाअनुसार ७० प्रतिशतसम्म घट्न सक्ने भारतको औषधि विभागले जनाएको छ।
राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरण (एनपीपीए) ले यी औषधिको अधिकतम खुद्रा मूल्यमा व्यापारिक मार्जिन ३० प्रतिशतसम्म मात्र राख्न पाउने व्यवस्था गरेको हो। संशोधित मूल्य सन् २०२६ नोभेम्बर ९ देखि लागू हुनेछ।
यो निर्णय औषधि वितरण र खुद्रा बिक्रीमा हुने अत्यधिक मार्जिन नियन्त्रण गर्न गरिएको विभागले जनाएको छ। सबै औषधिको मूल्य समान दरमा घट्ने भने होइन। कुन औषधि कति सस्तो हुन्छ भन्ने त्यसको हालको मूल्य संरचनामा निर्भर हुनेछ।
उत्पादक कम्पनीहरूले राजपत्रमा सूचना प्रकाशित भएको सात दिनभित्र संशोधित मूल्य एनपीपीएलाई बुझाउनुपर्नेछ। नयाँ मूल्यसूची आफ्नो वेबसाइटमा राख्नुका साथै अस्पताल र खुद्रा विक्रेतालाई पनि उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
अस्पताल तथा औषधि पसलले नोभेम्बर ९ देखि संशोधित मूल्यअनुसार बिक्री गर्नुपर्नेछ। औषधिको आपूर्तिमा अवरोध नआओस् भनेर कम्पनीहरूलाई हालको उत्पादन र आपूर्ति कायम राख्न पनि भनिएको छ।









