धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यक्रम करारका चिकित्सक तथा कर्मचारीले सरकारले निर्धारण गरेको दरअनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो गरेका छन्। करिब २०० कर्मचारीले पारिश्रमिकमा विभेद भएको आरोप लगाउँदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सुदूरपश्चिम प्रदेशमा झन्डै तीन महिनादेखि कायम बजेट शून्यताको अवस्था अन्त्य भएसँगै प्रदेशअन्तर्गतका कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधा पाउन थालेका छन्। तर, सेती प्रादेशिक अस्पतालमा कार्यक्रम करारमा कार्यरत कर्मचारीले भने सरकारले निर्धारण गरेको नयाँ दरअनुसार पारिश्रमिक नपाएको बताएका छन्।
सरकारले पारिश्रमिक वृद्धि गरे पनि आफूहरूले पुरानै दरमा तलब पाएको उनीहरूको गुनासो छ। अन्य कर्मचारीले तलब, दसैँ बोनस तथा वृद्धि भएको महँगी भत्तासहितको पारिश्रमिक पाउँदा आफूहरू भने अघिल्लो आर्थिक वर्षकै दरअनुसार तलब लिन बाध्य भएको एक कर्मचारीले बताए। यसले आफूहरूमाथि विभेद भएको उनको भनाइ छ।
पारिश्रमिकमा भएको विभेदबारे ध्यानाकर्षण गराउन कार्यक्रम करारका कर्मचारीले बिहीबार सामाजिक विकासमन्त्री सन्तोष थापा शर्मा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेलाई भेटेका थिए। छलफलमा दुवै जनाले विषयबारे थप बुझ्ने र कर्मचारीमाथि विभेद हुन नदिने प्रतिबद्धता जनाएको सहभागी एक कर्मचारीले बताए।
कर्मचारीहरूले केही दिनभित्रै पारिश्रमिक भुक्तानीमा समानता कायम गर्न माग गरेका छन्। माग सम्बोधन नभए अस्पताल प्रशासनविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ। सेती प्रादेशिक अस्पतालमा नर्सिङ कर्मचारीदेखि विशेषज्ञ चिकित्सकसम्म करिब २०० जना कार्यक्रम करारका कर्मचारी कार्यरत छन्। उनीहरूले राज्यले तोकेको सेवा सुविधा र वृद्धि भएको पारिश्रमिक आफूहरूले पनि पाउनुपर्ने माग गरेका छन्।
यता, अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले कार्यक्रम करारका कर्मचारीले पारिश्रमिकका विषयमा गुनासो गरेको पुष्टि गर्दै यसबारे छलफल भइरहेको बताए। मन्त्रालयसँग यस विषयमा जानकारी माग गरिएको र त्यहाँबाट प्राप्त हुने जवाफपछि थप कुरा स्पष्ट हुने उनको भनाइ छ।









