काठमाडौं । काठमाडौं। युवाको मानसिक स्वास्थ्य सुधारका लागि उनीहरूका कुरा सुन्ने, भावना बुझ्ने र विश्वास गरेर अवसर दिने वातावरण आवश्यक रहेको सरोकारवालाले बताएका छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोग, पुस्ताबीचको बुझाइमा फरक र तत्काल परिणाम खोज्ने प्रवृत्तिले युवाको मानसिक स्वास्थ्यमा चुनौती थपिरहेको उनीहरूको भनाइ छ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शनिबार काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा ‘सम्भाव्य युथ मेन्टल हेल्थ समिट २०२६’ आयोजना गरिएको हो। सम्भाव्य फाउन्डेसनको आयोजना र वाट्सन इन्स्टिच्युटको सहकार्यमा आयोजित समिटमा युवाको मानसिक स्वास्थ्यका विभिन्न पक्षबारे छलफल गरिएको थियो।
छलफलमा जेसीआई ग्लोबलकी अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा उद्यमी रजानी थापा, साइकोलोजिकल काउन्सिलर डा. आरती चन्द रेग्मी र कान्ति बाल अस्पतालकी कन्सल्टेन्ट मनोचिकित्सक डा. शुभा श्रेष्ठले धारणा राखेका थिए।
थापाले युवाको क्षमता पहिचान गरी नेतृत्व र निर्णय प्रक्रियामा अवसर दिनुपर्ने बताइन्। युवालाई विश्वास नगर्दा उनीहरूको आत्मविश्वास कमजोर हुन सक्ने उनको भनाइ थियो।
डा. रेग्मीले मानसिक स्वास्थ्यका लागि आत्मस्वीकृति, आफ्ना भावना बुझ्ने अभ्यास र आवश्यक पर्दा सहयोग माग्ने क्षमता महत्त्वपूर्ण रहेको बताइन्। अरूसँग तुलना गर्ने प्रवृत्तिले मानसिक दबाब बढाउन सक्ने उनले उल्लेख गरिन्।
त्यस्तै, डा. श्रेष्ठले सामाजिक सञ्जालको प्रयोग, तत्काल परिणामको अपेक्षा र अभिभावक तथा युवाबीचको पुस्तागत अन्तरले मानसिक स्वास्थ्यमा चुनौती थप्न सक्ने बताइन्। उनले परिवारमा संवाद बढाउन, युवाका कुरा धैर्यपूर्वक सुन्न र आवश्यक पर्दा परामर्श तथा उपचार लिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा युवा अनुभव प्रस्तुति, सांस्कृतिक कार्यक्रम, साउन्ड बाथ, वेलनेस क्याम्प तथा कार्यशालासमेत आयोजना गरिएको थियो।
समिटमा युवाको मानसिक स्वास्थ्यलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र नहेरी उनीहरूका भावना बुझ्ने, विश्वास गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।








