काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फका दुई महामन्त्री पदका लागि प्रतिस्पर्धा गरेका विवादित मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्मा जारी मतगणनामा चौथो स्थानमा खुम्चिएका छन् ।
उपलब्ध मतगणना विवरणअनुसार प्रदीप पौडेलले १ हजार ३८१, उदयशमशेर राणाले ७८६ र अमरसिंह पुनले ६१५ मत प्राप्त गर्दा शर्माले जम्मा ५२६ मत पाएका छन् । मतगणना जारी छ ।
नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माको दाबी कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने थियो। तर, उपलब्ध मतगणनामा उनी निर्वाचित हुने दुई स्थानभन्दा पछाडि परेका हुन् ।
विवादित विगत, अतिरिक्त शुल्क नतिर्दा विद्यार्थीलाई कक्षाबाट निकालियो
२०७८ पुसमा नोबेल र काठमाडौं मेडिकल कलेजका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मागिएको भन्दै आन्दोलन गरेका थिए। नोबेलका विद्यार्थीले अतिरिक्त शुल्क नबुझाउँदा कक्षाबाट निकालिएको, गालीगलौज गरिएको र अस्पतालको कोठामा राखेर धम्की दिइएको आरोप लगाएका थिए।
काठमाडौं मेडिकल कलेजमा पनि अतिरिक्त रकम नतिर्ने विद्यार्थीलाई कक्षामा प्रवेश रोकिएको गुनासो थियो। विद्यार्थीका अनुसार थप शुल्क बुझाएपछि मात्र परिचयपत्र दिइन्थ्यो र त्यही परिचयपत्रका आधारमा कक्षामा प्रवेश गर्न पाइन्थ्यो। थप रकम नतिरे अन्यत्र पढ्न जान शर्माले धम्की दिने गरेको आरोपसमेत विद्यार्थीले लगाएका थिए।
शुल्क विवाद चर्किएपछि चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र सम्बन्धित सरकारी निकायले निर्धारित शुल्कभन्दा बढी रकम नलिन निर्देशन दिएका थिए। तर, ती निर्देशनपछि पनि अतिरिक्त शुल्कको विवाद र विद्यार्थीको पठनपाठनमा अवरोध कायमै रहेको थियो ।
२०७८ माघमा शिक्षा मन्त्रालयमा भएको छलफलमा समेत शर्माले आयोगले तोकेभन्दा बढी शुल्क नलिने निर्णय नटेर्ने जवाफ फर्काएका थिए । मन्त्रीसहित सरोकारवाला सहभागी बैठकको निर्णयमा उनले असहमति जनाउँदै बाहिरिएका थिए । विश्वविद्यालय, मेडिकल काउन्सिललगायत निकायलाई बुझाउनुपर्ने रकम मागिएकाले त्यसलाई अतिरिक्त शुल्क भन्न नमिल्ने शर्माको दावी थियो।
विद्यार्थीलाई शुल्कका लागि दबाब दिएको र सरकारी निर्देशनको अवज्ञा गरेको आरोपसँग जोडिएका शर्मा अहिले कांग्रेसको महामन्त्री बन्ने प्रतिस्पर्धामा छन्। पार्टीलाई सेवामुखी बनाउने उनको दाबीका बीच जारी मतगणनामा प्राप्त उनको मत हेर्दा उनलाई काँग्रेसी कार्यकर्ताले पत्याउने संकेत देखिएको छैन । यद्यपी यो अन्तिम परिणाम भने होइन ।
अस्पताल र मेडिकल कलेज चलाउन समाजसेवाको आवरणमा प्रचार
पछिल्लो समय काठमाडौं मेडिकल कलेजसमेत किनेर सञ्चालन गरिरहेका शर्माले बेलाबेला छुटको घोषणा गर्ने , शिविर गर्ने, गरिव र विपन्नलाई निःशुल्क उपचार गर्ने भन्दै आफ्नो संस्था र आफ्नो विज्ञापन गरिरहेका हुन्छन् ।
दुवाकोटमा रहेका अस्पताल सञ्चालन गर्न कठिन भएपछि उनले केही समय अघि सुकुम्वासीको उपचार त्यहाँ निःशुल्क गर्ने दावी गरेका थिए । तर, त्यहाँ कति सुकुम्वासीले उपचार गराए भन्ने कुनै तथ्यांक छैन ।
यसअघि आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य शिविर चलाउँदै बिरामी आफ्नो अस्पतालमा तान्ने गरेका शर्मा पछिल्लो समय त्यहाँबाट चुनाव हारेपछि काठमाडौं मेडिकल कलेजलाई केन्द्रमा राखेर विभिन्न प्रकारका मार्केटिंग गरिरहेका भेटिन्छन् ।








