काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर २०० जनाको निःशुल्क मुटु परीक्षण गरेको छ।
केन्द्रले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढी प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भोगिरहेका नागरिकलाई मुटुसम्बन्धी परीक्षण सेवा उपलब्ध गराएको हो।
केन्द्रका अनुसार विदुर नगरपालिका–५ अन्तर्गत देवीघाट, पिपलटार र बट्टार बजार, बेलकोटगढी नगरपालिका–८, लिखु गाउँपालिका–२ र ३, सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका–३ को सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
शिविरमा २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ।
बाढीका कारण प्रभावित भएका तथा नियमित स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गर्दै केन्द्रले विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको थियो।







