जय पाठक (जेपी), चितवन । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा स्तन क्यान्सर सचेतना दौड कार्यक्रम सम्पन्न भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) क्यान्सर इन्स्टिच्युट र माइनप्लस युवा क्लबको संयुक्त आयोजनामा करिब ६ किलोमिटर दूरीको दौड कार्यक्रम आयोजना गरिएको हो ।

दौड कार्यक्रमको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी), चितवन मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशकसहित विभिन्न क्षेत्रका प्रतिनिधि, स्वास्थ्यकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

स्तन क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण र सही उपचारको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।
स्तन क्यान्सर महिलामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो । समयमै यसको पहिचान र उचित उपचार हुन सकेमा उपचारको प्रभावकारिता बढाउन सकिन्छ । तर, रोगसम्बन्धी पर्याप्त जानकारीको अभाव, सामाजिक भ्रम तथा स्वास्थ्य परीक्षणप्रतिको बेवास्ताका कारण कतिपय अवस्थामा क्यान्सरको पहिचान ढिलो हुने गरेको छ ।

यस्ता सचेतनामूलक कार्यक्रमले स्तन क्यान्सरसम्बन्धी भ्रम हटाउन, नियमित स्वास्थ्य परीक्षणप्रति समुदायलाई प्रेरित गर्न र रोगको समयमै पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देवकोटाले अपेक्षा व्यक्त गरे ।

स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजित दौड कार्यक्रमले स्वास्थ्यप्रति सचेत रहन र रोगविरुद्ध सामूहिक प्रयास गर्न सकारात्मक सन्देश दिएको उनको विश्वास छ ।
समयमै जाँच गरौँ, स्तन क्यान्सरबारे सचेत बनौँ र स्वस्थ जीवनका लागि हातेमालो गरौँ ।





![चितवनमा स्तन क्यान्सरविरुद्ध सचेतना फैलाउन दौड [फोटोफिचर]](https://swasthyadiary.com/wp-content/uploads/2026/10/Messenger_creation_1A153DC8-1958-4667-B0CB-48FF28448EB9-1024x683.jpeg)


