

काठमाडौं । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसन बस्दै आएका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।
रक्तचाप घट्नुका साथै शरीर कमजोर भएपछि हरिजनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो। हरिजन अनसन बसेको बुधबार तेस्रो दिन हो।
सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै हरिजन यसअघि पनि अनसन बसेका थिए। एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकसँग भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै उनले चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा पुनः आमरण अनसन सुरु गरेका हुन्।
हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबीबीएस तथा बीडीएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताएका छन्। सहमति कार्यान्वयन भएमा त्यसको सकारात्मक प्रभाव आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकसम्म पुग्ने उनको भनाइ छ।
एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसीपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेलगायत पाँचबुँदे सहमति भएको थियो।
तर, उक्त सहमति कार्यान्वयन नभएको भन्दै हरिजनले आन्दोलनलाई निरन्तरता दिएका हुन्। अनसनको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएसँगै माग कार्यान्वयनको विषय थप गम्भीर बनेको छ।



