

काठमाडौं । मुटु हाम्रो शरीरको प्रमुख अंग हो। मुटुको धड्कन बन्द हुनेबित्तिकै शरीरका अन्य अंगमा रगत तथा अक्सिजनको आपूर्ति रोकिन्छ र जीवन नै जोखिममा पर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न दैनिक जीवनशैलीदेखि खानपान र नियमित स्वास्थ्य परीक्षणसम्म विशेष ध्यान दिनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जगेश्वर प्रसाद शाह बताउँछन्।
बीएण्डबी अस्पतालमा कार्यरत डा. शाहका अनुसार मुटु स्वस्थ राख्ने पहिलो उपाय धुम्रपान पूर्ण रूपमा त्याग्नु हो। धुम्रपानले मुटु तथा रक्तनलीमा प्रत्यक्ष असर पार्ने भएकाले मुटुको स्वास्थ्य जोगाउन धुम्रपानबाट टाढा रहन आवश्यक हुन्छ। त्यसपछि स्वस्थ जीवनशैली अपनाउनु अर्को महत्वपूर्ण पक्ष हो।
स्वस्थ जीवनशैलीमा नियमित शारीरिक व्यायाम, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र स्वस्थ खानपान पर्छ। नियमित व्यायामले शरीरलाई सक्रिय राख्नुका साथै मुटुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। विश्व स्वास्थ्य संगठनले समेत नियमित शारीरिक गतिविधिमा जोड दिएको उल्लेख गर्दै डा. शाहले दैनिक कम्तीमा आधा घण्टा व्यायाम गर्न र हप्तामा पाँच दिन फास्ट वाक गर्न सुझाव दिन्छन्।
मुटु स्वस्थ राख्न रक्तचाप, कोलेस्ट्रोल र मधुमेहलाई पनि नियन्त्रणमा राख्नुपर्ने उनको भनाइ छ। यीमध्ये कुनै समस्या भएमा नियमित स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाहअनुसार नियन्त्रणमा राख्न सके मुटुलाई धेरै हदसम्म सुरक्षित राख्न सकिने उनी बताउँछन्।
बाहिरबाट हेर्दा व्यक्ति पूर्ण रूपमा स्वस्थ र जवान देखिए पनि शरीरभित्र मुटुसम्बन्धी समस्या हुन सक्ने भएकाले समय–समयमा मुटुको परीक्षण गराउनुपर्ने डा. शाहको सुझाव छ। मुटुसम्बन्धी समस्या लक्षण नदेखिई पनि विकसित हुन सक्ने र कतिपय अवस्थामा अचानक हृदयघात भएर ज्यानसमेत जान सक्ने भएकाले जोखिमअनुसार नियमित जाँच आवश्यक हुने उनी बताउँछन्।
खानपानमा पनि विशेष सावधानी अपनाउनुपर्ने डा. शाहको भनाइ छ। तेल तथा घिउमा धेरै तारेका खानेकुरा सकेसम्म नखान र अत्यधिक नुनको सेवनबाट बच्न उनले सुझाव दिएका छन्। उनका अनुसार दैनिक पाँच ग्रामभन्दा कम नुन सेवन गर्नु उपयुक्त हुन्छ।
कफीका विषयमा भने सबै व्यक्तिमा एउटै किसिमको असर नपर्ने उनी बताउँछन्। कफी सेवन गरेपछि शरीरमा कुनै असहजता वा समस्या देखिने व्यक्तिले कफी नपिउनु राम्रो हुने उनको सुझाव छ।
पर्याप्त निद्रालाई पनि मुटुको स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने डा. शाह बताउँछन्। दिनभर शरीरमा हुने विभिन्न किसिमका क्षतिलाई पुनःस्थापित गर्न पर्याप्त आराम आवश्यक हुने भएकाले दैनिक कम्तीमा ६ घण्टा सुत्नुपर्ने उनको भनाइ छ।
मुटुसम्बन्धी समस्या देखिन सक्ने सम्भावित संकेतलाई बेवास्ता गर्न नहुने डा. शाह बताउँछन्। छाती दुख्ने वा भारी हुने, घाँटी वा चिउँडो दुख्ने, ढाड दुख्ने, सास फेर्न गाह्रो हुने, देब्रे हात दुख्ने, चिसो पसिना आउने तथा वाकवाकी लाग्नेजस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुगेर मुटुको जाँच गराउनुपर्ने उनको सुझाव छ।
उनका अनुसार मुटु रोगको जोखिम बढिसकेपछि उपचार खोज्नुभन्दा जोखिम घटाउने जीवनशैली अपनाउनु बढी महत्वपूर्ण हुन्छ। धुम्रपान त्याग्ने, नियमित व्यायाम गर्ने, स्वस्थ खाना खाने, पर्याप्त सुत्ने, तनाव कम गर्ने तथा रक्तचाप, कोलेस्ट्रोल र मधुमेह नियन्त्रणमा राख्ने बानीले मुटुको स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।



