

काठमाडौं । मध्ययुगीन युरोपसँग जोडिने प्लेग रोग फेरि साइबेरियाको एउटा घटनाका कारण विश्वभर चर्चामा आएको छ। रुसको साइबेरियास्थित इरकुत्स्क एन्टी–प्लेग अनुसन्धान संस्थानकी २८ वर्षीया प्रयोगशाला कर्मचारी दर्या शिपिलोभाको गम्भीर निमोनियापछि मृत्यु भएपछि निमोनिक प्लेगको आशंका गरिएको हो। घटनापछि करिब २ सय जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ भने सम्पर्कमा आएका व्यक्तिको खोजी तथा परीक्षणसमेत अघि बढाइएको छ।
शिपिलोभा सेप्टेम्बर २९ मा गम्भीर निमोनियापछि अस्पताल भर्ना भएकी थिइन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। तर दुई दिनपछि उनको मृत्यु भयो। उनी प्लेगसम्बन्धी अनुसन्धान हुने संस्थानमा कार्यरत रहेकाले उपचारका क्रममा प्लेगको सम्भावित संक्रमणबारे चासो बढेको हो।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले शिपिलोभा प्रयोगशालामा काम गर्ने क्रममा प्लेग ब्याक्टेरियाको सम्पर्कमा आएको हुन सक्ने उल्लेख गरेका छन्। एउटा रिपोर्टमा उनले जीवित ब्याक्टेरिया राखिएको परीक्षण ट्युब दुर्घटनावश फुटेको जानकारी चिकित्सकलाई दिएको दाबी गरिएको छ। उनी मंगोलियाको सीमाना नजिक पर्ने छिमेकी बुर्यातिया क्षेत्रमा फिल्ड अभियानमा रहेका बेला बिरामी परेको पनि रिपोर्टमा उल्लेख छ।
तर यी विवरणलाई रुसी अधिकारीहरूले पुष्टि गरेका छैनन्। रुसको जनस्वास्थ्य निगरानी निकाय रोस्पोत्रेब्नाद्जोरले उनको अवस्थालाई ‘अज्ञात कारणको निमोनिया’ भनेको छ। उनको शरीरबाट पेसागत गतिविधिसँग सम्बन्धित कुनै सूक्ष्मजीव फेला नपरेको पनि निकायले जनाएको छ। खतरनाक रोगजनकसँग सम्बन्धित कुनै दुर्घटना भएको प्रमाणसमेत फेला नपरेको रुसी अधिकारीहरूको भनाइ छ।
यद्यपि घटनापछि शिपिलोभाको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी उनीहरूलाई चिकित्सकीय निगरानीमा राखिएको छ। करिब २ सय जनालाई क्वारेन्टाइनमा राखिएको र तीनवटा अस्पतालमा समेत क्वारेन्टाइनसम्बन्धी व्यवस्था गरिएको रिपोर्टमा उल्लेख छ। इरकुत्स्कका गभर्नर इगोर कोब्जेभका अनुसार निगरानीमा रहेका व्यक्तिमा हालसम्म कुनै लक्षण देखिएको छैन र उनीहरूको परीक्षण नतिजासमेत नकारात्मक आएको छ।
रुसका प्रमुख राज्य सरसफाइ चिकित्सक अन्ना पोपोभासमेत घटनाको अवस्थाबारे जानकारी लिन मस्कोबाट साइबेरिया पुगेकी छन्। उनले सम्भावित ‘अत्यन्त खतरनाक संक्रामक रोग’ को घटनापछि बसेको क्षेत्रीय सरसफाइ तथा महामारी नियन्त्रण आयोगको आपत्कालीन बैठकमा सहभागिता जनाएकी छन्। यद्यपि रुसी अधिकारीहरूले सुरुमा सम्भावित रोगको नाम भने सार्वजनिक गरेका थिएनन्।
अमेरिकाले पनि नजिकबाट निगरानी गर्दै
रुसी प्रयोगशाला कर्मचारीको मृत्युको घटनालाई अमेरिकाले पनि नजिकबाट निगरानी गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको प्लेग अनुसन्धान केन्द्रमा कार्यरत कर्मचारीको मृत्युबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि घटनाको जानकारी ‘घण्टैपिच्छे’ निगरानी गरिरहेको र रुसले थप सूचना साझा गर्नुपर्ने बताएका छन्।
रुबियोका अनुसार रुसबाट प्राप्त जानकारीअनुसार प्रयोगशालामा कार्यरत एक कर्मचारी संक्रमित भएको र संक्रमण संस्थाभित्र फैलिएको हुन सक्ने चिन्ता रहेको छ। उनले संक्रमण अनुसन्धान केन्द्रको सीमित क्षेत्रबाट बाहिर निस्किएमा विश्वका अन्य स्थानमा पनि तीव्र रूपमा फैलिन सक्ने सम्भावनातर्फ संकेत गरेका छन्।
यद्यपि अमेरिकाले रुसमा प्लेग पुष्टि भएको वा मानिसबाट मानिसमा संक्रमण फैलिएको घोषणा गरेको छैन। घटनाप्रति अमेरिकाको चासो प्लेग पुष्टि भएको कारण नभई प्लेग अनुसन्धान हुने प्रयोगशालामा काम गर्ने कर्मचारीको रहस्यमय निमोनियापछि मृत्यु भएको र सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको परिस्थितिका कारण हो।
भारत सतर्क !
रुसको घटनापछि भारतमा पनि प्लेगको सम्भावित जोखिमबारे चर्चा सुरु भएको छ। भारतमा पछिल्लो ठूलो प्लेग प्रकोप सन् १९९४ मा देखिएको थियो। विश्व स्वास्थ्य संगठनका अभिलेखअनुसार त्यस वर्ष अगस्ट र सेप्टेम्बरमा महाराष्ट्रको बीड जिल्लास्थित मामला गाउँ र आसपासका क्षेत्रमा ६३ जना बुबोनिक प्लेगका बिरामी भेटिएका थिए।
त्यसपछि गुजरातको सुरतमा पनि संक्रमण देखिएपछि अवस्था गम्भीर बनेको थियो। डब्ल्यूएचओको पछिल्लो मूल्यांकनअनुसार सुरतमा देखिएको घटनामा ८७६ जना संक्रमित भएका थिए भने ५४ जनाको मृत्यु भएको थियो।
प्लेग मुख्यतः तीन प्रकारको हुन्छ- बुबोनिक, निमोनिक र सेप्टिसेमिक। तीमध्ये निमोनिक प्लेग मानिसबाट मानिसमा श्वासप्रश्वासका कणमार्फत फैलिन सक्ने भएकाले विशेष चिन्ताको विषय मानिन्छ।
प्लेग ‘यर्सिनिया पेस्टिस’ नामक ब्याक्टेरियाबाट हुन्छ। यो ब्याक्टेरिया सामान्यतया साना स्तनधारी जनावर तथा तिनमा पाइने उपियाँमा प्राकृतिक रूपमा रहन्छ। संक्रमित उपियाँको टोकाइ, संक्रमित जनावर वा त्यसका तन्तुसँग सम्पर्कबाट मानिसमा संक्रमण हुन सक्छ। निमोनिक प्लेगमा भने संक्रमित व्यक्तिको श्वासप्रश्वासबाट निस्कने कणमार्फत समेत संक्रमण सर्न सक्छ।
निमोनिक प्लेगमा ज्वरो, जाडो लाग्ने, कमजोरी, टाउको दुख्ने, खोकी, श्वास फेर्न कठिनाइ तथा छातीमा असहजता जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणमा समेत देखिने भएकाले प्लेगको आशंका भए प्रयोगशाला परीक्षणबाट पुष्टि गर्नु महत्वपूर्ण हुन्छ।
चिकित्सकहरूले पनि रुसको घटनालाई तत्काल पुष्टि भएको प्लेग प्रकोप भन्नु हतार हुने बताएका छन्। रोगको आधिकारिक पुष्टि र महामारीसम्बन्धी प्रमाण नआएसम्म यसलाई सम्भावित घटना मात्रै मान्नुपर्ने उनीहरूको भनाइ छ।
प्लेग पहिलेको जस्तो उपचार गर्न नसकिने रोग भने होइन। समयमै उपचार सुरु भए एन्टिबायोटिक प्रभावकारी हुन सक्छ। आधुनिक निगरानी प्रणाली, प्रयोगशाला परीक्षण र संक्रमण नियन्त्रणका उपायले प्लेगको पहिचान तथा व्यवस्थापन गर्ने क्षमता पनि पहिलेको तुलनामा निकै सुधारिएको छ।
हालसम्म उपलब्ध विवरणमा रुसको घटनाबाट अन्तर्राष्ट्रिय स्तरमा निरन्तर संक्रमण फैलिएको प्रमाण छैन। स्वयं प्लेगको पुष्टि पनि भइसकेको छैन। त्यसैले भारतसहित अन्य देशले सतर्कता अपनाउनुपर्ने भए पनि तत्काल आतंकित हुनुपर्ने अवस्था नरहेको स्वास्थ्य विज्ञहरूको धारणा छ।
तर गम्भीर र अज्ञात कारणको निमोनिया, प्लेग अनुसन्धान संस्थानमा कार्यरत कर्मचारीको मृत्यु, सम्भावित संक्रमणको रिपोर्ट, सम्पर्कमा आएका व्यक्तिको क्वारेन्टाइन र उच्च तहका रुसी स्वास्थ्य अधिकारीको सक्रियताले घटनालाई भने नजिकबाट निगरानी गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
नेपालमा जोखिम न्यून
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रुसको इर्कुत्स्क क्षेत्रमा देखिएको शङ्कास्पद प्लेगको नेपालमा जोखिम अत्यन्त न्यून रहेको जनाएको छ।
हाल उपलब्ध अन्तर्राष्ट्रिय तथ्यांक तथा सूचनाका आधारमा रूसबाहिर संक्रमण फैलिने सम्भावना निकै कम रहेकाले अनावश्यक चिन्ता, त्रास वा भ्रममा नपर्न महाशाखाले आग्रह गरेको छ।
सम्भावित जोखिम रोकथाम तथा पूर्वतयारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई उच्च सतर्कतामा राखिएको छ। साथै, शङ्कास्पद नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक सुविधा रहेको र उपचारका लागि नेपालमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।
महाशाखाले आधिकारिक स्वास्थ्य निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न र अफवाहको पछि नलाग्न समेत आग्रह गरेको छ।



