

-शुभ मान श्रेष्ठ
औषधि मानव स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील वस्तु हो। उत्पादन, आयात, भण्डारण, ढुवानी वा बिक्री–वितरणका क्रममा गुणस्तरमा समस्या देखिएमा सम्बन्धित औषधिलाई बजारबाट फिर्ता गर्ने प्रक्रियालाई औषधि फिर्ता (रिकल) भनिन्छ।
औषधिको कुनै ब्याच गुणस्तरअनुसार नभएको, सुरक्षामा प्रश्न उठेको, लेबलमा त्रुटि भएको वा बिरामीको स्वास्थ्यमा जोखिम देखिएको अवस्थामा रिकल आवश्यक हुन सक्छ। यसको उद्देश्य कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्नु मात्र होइन, सम्भावित जोखिमबाट बिरामी र आम नागरिकलाई सुरक्षित राख्नु हो।
रिकल कसरी प्रभावकारी बनाउने ?
नेपालमा औषधि व्यवस्था विभागले औषधि फिर्ता, बिक्री रोक्का तथा बजार नियन्त्रणसम्बन्धी सूचना जारी गर्दै आएको छ। प्रभावकारी रिकलका लागि केही आधारभूत विषयमा विशेष ध्यान दिन आवश्यक हुन्छ।
पहिलो, औषधिको गुणस्तरसम्बन्धी उजुरी, प्रतिकूल असर, निरीक्षण वा प्रयोगशाला परीक्षणबाट समस्या पहिचान हुनुपर्छ।
दोस्रो, रिकलको निर्णय अनुमान वा अपुष्ट सूचनामा होइन, वैज्ञानिक प्रमाण र जोखिम मूल्याङ्कनमा आधारित हुनुपर्छ।
तेस्रो, प्रभावित औषधिको नाम, उत्पादक, दर्ता नम्बर, ब्याच नम्बर, उत्पादन मिति र म्याद सकिने मिति स्पष्ट रूपमा पहिचान हुनुपर्छ।
चौथो, आवश्यक परे बिक्री तथा वितरण तत्काल रोक्नुपर्छ र प्रभावित औषधिलाई छुट्टै सुरक्षित स्थानमा राख्नुपर्छ।
पाँचौँ, औषधि कहाँबाट आयो र कहाँ–कहाँ पुग्यो भन्ने विवरण आपूर्ति शृङ्खला पहिचान प्रणालीमार्फत पत्ता लगाउन सकिने व्यवस्था हुनुपर्छ।
छैटौँ, फिर्ता भएका औषधिको अभिलेख राखी सुरक्षित व्यवस्थापन गर्नुपर्छ। समस्याको मूल कारण पहिचान गरी सुधारात्मक तथा रोकथामका उपायसमेत लागू गर्नुपर्छ।
सबै औषधिको जोखिम एउटै हुँदैन
विश्वका विकसित औषधि नियमन प्रणालीमा रिकललाई जोखिमका आधारमा व्यवस्थापन गरिन्छ। गम्भीर स्वास्थ्य क्षति वा मृत्युको सम्भावना भएको अवस्थामा उच्च प्राथमिकतामा तत्काल कारबाही आवश्यक हुन्छ। कम जोखिम भएका अवस्थामा पनि कानुनी वा गुणस्तरसम्बन्धी कमजोरीअनुसार उचित नियामक कदम चालिन्छ।
त्यसैले सबै गुणस्तर समस्या एउटै स्तरको रिकल हुनुपर्छ भन्ने हुँदैन। जोखिमको गम्भीरता र सम्भावित स्वास्थ्य प्रभावका आधारमा निर्णय गर्नुपर्छ।
औषधि व्यवसायीको भूमिका
औषधि व्यवसायी रिकल प्रक्रियाका महत्वपूर्ण पक्ष हुन्। उनीहरूले गुणस्तरसम्बन्धी समस्या देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउने, प्रभावित ब्याचको अभिलेख राख्ने, बिक्री रोक्ने, मौज्दात छुट्याउने र फिर्ता प्रक्रियामा सहयोग गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ।
आवश्यक अवस्थामा बिरामीलाई आधिकारिक सूचनाअनुसार उचित जानकारी दिनुपर्छ। चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्न वा आफैँ वैकल्पिक औषधि प्रयोग गर्न प्रेरित गर्नु हुँदैन।
नेपालमा के सुधार आवश्यक छ?
नेपालमा औषधि फिर्ता प्रणालीलाई थप प्रभावकारी बनाउन स्पष्ट राष्ट्रिय निर्देशिका, जोखिमअनुसार रिकल वर्गीकरण, समयसीमाबद्ध कारबाही, डिजिटल सूचना प्रणाली र आपूर्ति शृङ्खला पहिचान प्रणाली आवश्यक देखिन्छ।
त्यसैगरी प्रयोगशाला क्षमता वृद्धि, नियमित अभ्यास, औषधि व्यवसायीको क्षमता अभिवृद्धि, सुरक्षित सार्वजनिक सूचना र रिकल प्रक्रियाको नियमित मूल्याङ्कनमा पनि जोड दिन आवश्यक छ।
निष्कर्ष
औषधि रिकल दण्डको माध्यम मात्र होइन, जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण प्रणाली हो। यसको सफलता कति औषधि फिर्ता गरियो भन्ने संख्याले मात्र होइन, जोखिम कति छिटो पहिचान भयो, प्रभावित औषधि कति प्रभावकारी रूपमा नियन्त्रण गरियो र समस्या दोहोरिन नदिन कस्ता सुधार गरिए भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।
“औषधिको गुणस्तरमा सम्झौता नगरौँ, रिकलमा विज्ञान र निष्पक्षता अपनाऔँ, जनस्वास्थ्यको सुरक्षामा एकजुट बनौँ।”
(लेखक श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका महासचिव हुन्)



