

काठमाडौं । इन्टर्न तथा आवासीय चिकित्सकका माग सम्बोधन गर्ने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. डिल्ली हरिजनले दोस्रोपटक आमरण अनशन सुरु गरेका छन्।
डा. हरिजन सोमबारदेखि भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमा आमरण अनशनमा बसेका हुन्। इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरणलगायतका विषयमा यसअघि पनि उनले आन्दोलन गर्दै आएका थिए।
यसअघि आमरण अनशन बसेपछि सरकारले डा. हरिजनसँग पाँचबुँदे सहमति गरेको थियो। तर सहमति भएको दुई महिना बितिसक्दा पनि त्यसको कार्यान्वयन नभएको उनको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि बाध्य भएर पुनः आमरण अनशनमा बस्नुपरेको उनले बताएका छन्।
डा. हरिजनका अनुसार इन्टर्न तथा आवासीय चिकित्सक अहिले पनि कठिन परिस्थितिमा काम गर्न बाध्य छन्। विशेषगरी ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्थाले चिकित्सकको स्वास्थ्य र कार्यक्षमतामा असर पार्नुका साथै बिरामीको उपचार सेवासमेत प्रभावित हुन सक्ने उनको भनाइ छ।
चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अन्य जायज विषयमा पटक–पटक आवाज उठाउँदा पनि अपेक्षित सुधार नदेखिएको उनले बताए। लामो समयसम्म काममा लगाउने तर त्यसअनुसारको सुविधा, सुरक्षा र श्रमको उचित सम्मान नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको माग छ।
चिकित्सकलाई सुरक्षित र मर्यादित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनु राज्यको दायित्व भएको डा. हरिजनले बताएका छन्। माग सम्बोधनका लागि सडक आन्दोलनदेखि सदनसम्म तथा संवाददेखि अनशनसम्मका लोकतान्त्रिक र शान्तिपूर्ण माध्यम अपनाइसक्दा पनि समस्या समाधान नभएको उनको भनाइ छ।
पटक–पटक प्रतिबद्धता जनाइए पनि व्यवहारमा सहमति कार्यान्वयन नभएकाले समस्या दोहोरिएको उनले बताए। इन्टर्न तथा आवासीय चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्दै यसअघि भएको सहमति कार्यान्वयन गर्न उनले सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभएसम्म अनशन जारी राख्ने उनको भनाइ छ।
डा. हरिजनले आफूले उठाएका विषय व्यक्तिगत नभई देशभरका इन्टर्न तथा आवासीय चिकित्सकको कार्य अवस्था र अधिकारसँग जोडिएको दाबी गरेका छन्।




