

बाँके । बाँकेको कोहलपुरमा उपचारका लागि पोलिक्लिनिक पुगेकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा प्रहरीले पोलिक्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ।
कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकका सञ्चालक ६३ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको तथा चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पीडित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्।
जाहेरी परेपछि प्रहरीले कोहलपुर नगरपालिका–११ निवासी थापालाई पक्राउ गरेको हो। उनी प्रमाणपत्र तहको सामुदायिक चिकित्सा शिक्षा (सीएमए) उत्तीर्ण स्वास्थ्यकर्मीसमेत रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापामाथि बाँके जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आचारसंहितामा महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा संरक्षक वा महिला सहयोगीको उपस्थितिमा परीक्षण गर्नुपर्ने व्यवस्था छ। उक्त घटनामा सो व्यवस्था पालना भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




