

काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा ज्यालादारी चिकित्सकहरूलाई प्रोत्साहन भत्तालगायतका सुविधाबाट वञ्चित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी ‘नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१’ मा करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित सेवा तथा समूहको सुरु तलब स्केल बराबर तलब, स्थानीय भत्तालगायत अन्य भत्ता तथा सुविधा पाउने व्यवस्था रहेको संघले जनाएको छ।
तर, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करार तथा ज्यालादारी चिकित्सकहरूलाई हालसम्म प्रोत्साहन भत्तालगायतका सुविधाबाट वञ्चित गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र सेवा प्रवाह प्रभावकारी बनाउन समान कामका लागि समान सुविधा सुनिश्चित गर्नुपर्ने संघको भनाइ छ।
छात्रवृत्ति करार तथा ज्यालादारीमा कार्यरत चिकित्सकहरू पनि नियमित रूपमा स्वास्थ्य सेवामा खटिँदै आएकाले उनीहरूमाथि विभेद नगरी अन्य चिकित्सकसरह समान व्यवहार गर्नुपर्ने संघले माग गरेको छ।



